२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जेन-जीको असन्तुष्टि सम्बोधन गर्न र पार्टीको बाटो सच्याउन विशेष महाधिवेशन: थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन-जी र आम नागरिकमा चुलिएको असन्तुष्टिलाई सम्बोधन गर्न तथा पार्टीले बिराएको बाटो सच्याउन विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन्।

आइतबार भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भदौ २३ र २४ गते सडकमा देखिएको आक्रोशलाई पार्टीले नजरअन्दाज गर्न नमिल्ने बताए।

‘भदौ २३ र २४ गते जेन-जीले मात्र होइन, नेपालका लाखौँ नरनारीले सडकमा आएर, घरमा बसेर आफ्नो असन्तुष्टि र आक्रोश पोखेका हुन्,’ महामन्त्री थापाले भने, ‘त्यो आक्रोश सरकारसँग थियो, संसद्‍सँग थियो र हाम्रा कामकारबाहीसँग थियो। त्यसलाई अनदेखा गरेर वा सामान्य घटना मानेर हामी चुप बस्न मिल्दैन।’

उनले सडकबाट उठेका प्रश्नहरूलाई सम्बोधन गर्न र नेतृत्वलाई सच्चिन दबाब दिनकै लागि महाधिवेशन गर्नुपरेको प्रस्ट पारे।

‘यो उथलपुथल पछाडि एकपटक कांग्रेस अडिनुपर्छ, फर्कनुपर्छ र आफैँभित्र पनि टटोलनुपर्छ,’ थापाले भने, ‘पार्टी जसरी चलेको छ, ठीकठाक चलेको छैन। तिम्रा निर्णयहरू ठीक थिएनन्, तिमी सुध्रिनुपर्छ र बदलिनुपर्छ भनेर पार्टीका सदस्यहरूले भनेको कुरालाई स्थापित गर्न हामी यहाँ आएका हौँ।’

महामन्त्री थापाले भ्रष्टाचार, कुशासन र बेथितिप्रति नागरिकले पोखेको रिसलाई नेतृत्वले बुझ्न नसक्नु वा बुझ्न नचाहनु नै अहिलेको मुख्य समस्या रहेको औँल्याए।

‘नागरिकलाई कसरी बुझ्ने र जनभावनाको कदर गर्ने भन्ने सवालमा हाम्रो सोचको भिन्नता छ,’ उनले भने, ‘यो महाधिवेशन त्यही सोच र कार्यशैली बदल्ने एउटा प्रयास हो।’

प्रकाशित: २७ पुस २०८२ १८:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App