सोमबार संसद् बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुलभ खरेलले आकस्मिक समयमा पार्टीको घोषणाबारे बोल्दा सभामुख डिपी अर्यालले रोकेका छन्।
सांसद खरेलले आज (भदौ १ गते) बाट रास्वपाले ‘क्यान्डिडेट क्लब’ खुलाउन लागेको र आगामी स्थानीय तथा प्रदेश तहको चुनावमा उम्मेदवारी छनोटका लागि देशैभरका योग्य, विज्ञ र ऊर्जाशील युवाहरूलाई आह्वान गरेको विषय सदनमा राख्दै थिए। उनले संविधानअन्तर्गत प्रदेशसभा र केन्द्रका सदस्यहरूबारे आफ्नो कुरा राख्दै गर्दा सभामुखले बिचमै रोकेका हुन्।
सांसद खरेलले भन्दै थिए, ‘सभामुख महोदय: आज भदौ १ । आजको दिनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले 'क्यान्डिडेट क्लब' भन्ने खुलाउँदै छ र देशैभरिबाट योग्य, विज्ञ, ऊर्जाशील युवाहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आह्वान गरेको छ। अबको दिनमा हुँदै गरेको स्थानीय तहको चुनाव र प्रदेशको चुनावमा उम्मेदवारीको छनोट र मनोनयनको लागि भनेर आफ्नो 'क्यान्डिडेट क्लब' खुलाउँदै छ। त्यसका लागि म पार्टीलाई धन्यवाद दिन चाहन्छु।’
उनी थप भन्दै थिए, ‘मैले यहाँ उठाउन खोजेको कुरा के छ, सम्माननीय सभामुख महोदय भन्दाखेरि हामीले यो संविधानमा हेर्यौं भने प्रदेशसभा र केन्द्रको सदस्यहरू...’
अनि सांसद खरेल बोलिरहेका बेला बिचमै हस्तक्षेप गर्दै सभामुख अर्यालले भने, ‘माननीय सदस्यले आकस्मिक समय माग्नुभएको थियो। त्यसकारण माननीय सदस्यको यो विषय कहीँ पनि आकस्मिक देखिँदैन। त्यसकारण बसौँ माननीय सदस्य। बसौँ।’
संसदमा यो घटना भइरहँदा उपस्थित रास्वपा सभापति रवि लामिछाने र महामन्त्री विपिनकुमार आचार्य पनि केही असहज अवस्थामा देखिएका थिए।
प्रकाशित: १ भाद्र २०८३ १६:४८ सोमबार



-600x400.jpg)

