२२ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

सभामुख अर्याललाई सभापति लामिछानेको बधाई

प्रतिनिधि सभाको सभामुखमा उपसभापति डोलप्रसाद अर्याल चयन भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बधाई दिएका छन्। रास्वपाले अघि सारेका उम्मेदवार अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।  

रास्वपा सभापति लामिछानेले विज्ञप्ति जारी गर्दै नवनिर्वाचित सभामुख अर्याललाई व्यक्तिगत तथा पार्टीको तर्फबाट हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

उक्त प्रस्तावमा प्रस्तावकका रूपमा स्वयं लामिछाने रहेका थिए भने समर्थकहरूमा स्वर्णिम वाग्ले, सुनिल लम्साल र सोबिता गौतम थिए। प्रस्तावलाई निर्विरोध रूपमा पारित गर्न सहयोग पुर्‍याउने सम्पूर्ण राजनीतिक दल तथा सांसदहरूप्रति रास्वपाले आभार व्यक्त गरेको छ।

नवनिर्वाचित सभामुख अर्यालले संसद्को गरिमा, मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष, सन्तुलित र उत्तरदायी ढंगले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सदनको कामकारबाहीलाई थप चुस्त, प्रभावकारी र परिणाममुखी बनाउने तथा संसदीय अभ्यासलाई सुदृढ गर्ने दिशामा सक्रिय रहने बताएका छन्।

सभापतिको विज्ञप्तिमा सबै राजनीतिक दल र सांसदहरूसँग सहकार्य तथा समन्वय गर्दै संसद्लाई जनमुखी र उत्तरदायी संस्थाका रूपमा स्थापित गर्ने अर्यालको दृष्टिकोणको प्रशंसा गरिएको छ। सभामुख पदलाई साझा व्यक्तित्वका रूपमा स्थापित गर्ने संसदीय परम्परा अनुरूप उनले उम्मेदवारी दिएदेखि नै पार्टी जिम्मेवारीबाट अलग रहँदै राजनीतिक नैतिकता प्रदर्शन गरेको पनि उल्लेख गरिएको छ।

यसैबीच, प्रतिनिधि सभाको प्रारम्भिक बैठकको अध्यक्षता गर्दै कार्य सञ्चालनमा योगदान पुर्‍याएका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी प्रति पनि धन्यवाद व्यक्त गरिएको छ।

प्रकाशित: २२ चैत्र २०८२ १७:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App