संघीय संसद र सातवटै प्रदेश सभाबिच समन्वय, सहकार्य तथा संसदीय अनुभव आदानप्रदानलाई प्रभावकारी बनाउने उद्देश्यले शनिबारदेखि दुई दिने उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन आयोजना हुँदैछ।
कैलालीको टीकापुरमा शनिबारदेखि सुरु हुने सम्मेलनका लागि प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसहितको टोली त्यहाँ पुगेको छ। उनीहरुसँगै उपसभामुख रूबी कुमारी, उपाध्यक्ष लिला कुमारी भण्डारीसहित संघीय संसद र प्रदेश सभाका पदाधिकारी धनगढी पुगेका छन्।
शनिबार बिहान ८ः३० बजे सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा हुने सत्रमा प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले संयुक्त रूपमा सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन समारोहमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधि सभाका सभामुखले शुभकामना मन्तव्य व्यक्त गर्नेछन्।
अर्यालको सचिवालयका अनुसार शनिबार दिउँसो १२ः३० बजेदेखि सुरु हुने बन्द सत्रमा संसदीय प्रणाली र कानुन निर्माणसँग सम्बन्धित विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ। संघीय संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले ‘लेजिस्लेटिभ एकेडेमी’ तथा ‘संसदीय अनुगमन कार्यमा एकरूपता’, सूचना प्रविधि विज्ञ विनित सत्यालले ‘डिजिटल पार्लियामेन्ट’, संविधानसभा सदस्य खिमलाल देवकोटाले ‘कानुन निर्माण प्रक्रियामा संघ, प्रदेश र स्थानीय तहबिचको समन्वय’ र पूर्वसचिव डा. सुरेन्द्र अर्यालले ‘आदर्श बजेट निर्माण प्रक्रिया’ विषयमा प्रस्तुति दिनेछन्। कार्यपत्र प्रस्तुतिपश्चात् संघीयता कार्यान्वयनको अवस्था, सभा सञ्चालनका असल अभ्यास, अन्तर-व्यवस्थापिका समन्वय तथा आगामी कार्यदिशाका विषयमा सहभागीहरूबिच बृहत् छलफल हुनेछ।
सम्मेलनको दोस्रो दिन आइतबार बिहान ९ः०० बजे संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले ‘टीकापुर घोषणापत्र’को मस्यौदा प्रस्तुत गर्नेछन्। मस्यौदामाथि छलफल गरी सहभागीहरूको सुझाव समेटेर घोषणापत्र पारित तथा हस्ताक्षर गरिनेछ।
आइतबार बिहान १०ः३० बजे सम्मेलनको औपचारिक समापन हुनेछ भने निष्कर्ष तथा ‘टीकापुर घोषणापत्र’ सार्वजनिक गर्न बिहान ११ः०० बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ। सम्मेलनमा संघीय संसदका दुवै सदन तथा सातवटै प्रदेश सभाका सभामुख, उपसभामुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख सचेतक, समितिका सभापति, सचिव तथा सम्बन्धित पदाधिकारीहरूको सहभागिता रहनेछ।
प्रकाशित: २२ जेष्ठ २०८३ १६:२० शुक्रबार





