मधेश प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका जितेन्द्र सोनलले आफूसँग अझै बहुमत रहेको र संविधानको धारा १६८ (२) बमोजिम पुनः मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने बताएका छन्।
शनिबार प्रदेश सभाबाट राजीनामा घोषणा गरेर बाहिरिए लगत्तै उनले यस्तो बताएका हुन्।
विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका सोनलले सभामुख रामचन्द्र मण्डलले पूर्वाग्रही र हतारमा प्रक्रिया अघि बढाएको आरोप लगाए।
प्रदेश सभाबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सोनलले भने, ‘हामी छलफलमै रहेको बेला सभामुखले भित्र मत विभाजन प्रक्रियालाई गति दिनुभयो। यो सरासर गलत हो। उहाँ अर्कै माइन्डसेटका साथ अघि बढेको अनुभूति भएपछि मैले मार्ग प्रशस्त गरिदिएको हुँ।’
उनले थपे, ‘संघीयता मास्छु भन्ने सपना कसैले नदेखे हुन्छ। हामीसँग अझै बहुमत छ र हामी कानुनी बाटोबाटै पुनः सरकारमा आउँछौं।’
गत असोज २९ गते ५६ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका सोनलले शनिबार प्रदेश सभा बैठकमा सत्तापक्षकै सांसदहरूको अनुपस्थितिमा सभामुखले मत विभाजन सुरु गरेपछि राजीनामाको घोषणा गरेका थिए।
सोनलको राजीनामा घोषणापछि सभामुख मण्डलले मत विभाजनको प्रक्रिया रोकिएको जानकारी दिँदै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका थिए।
शनिबार मुख्यमन्त्री सोनलले विश्वासको मत लिने प्रस्ताव पेस गरेपछि सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का दुई सांसद रहबर अन्सारी र माला कर्णले विद्रोह गर्दै विपक्षमा मतदान गर्ने घोषणा गरेपछि सरकार संकटमा परेको थियो।
सरकारलाई चाहिने ५३ मतमध्ये दुई सांसदको विद्रोहपछि पक्षमा ५२ मत मात्रै पर्ने निश्चित भएको थियो। जसपाका १८, जनमतका ११, माओवादीका ७, नेकपा (एस) का ७, लोसपाका ८ र नागरिक उन्मुक्तिको १ गरी सोनलको पक्षमा ५२ मत देखिएको थियो।
अंकगणित विपक्षमा गएपछि सत्तापक्षले छलफलका लागि समय मागे पनि सहमति जुट्न नसक्दा सोनल राजीनामा दिन बाध्य भए।
यसअघि बैठकमा बोल्दै माओवादी सांसद रहबर अन्सारीले ‘जेनजी आन्दोलन’ को मर्मविपरीत राजनीतिक चरित्रमा सुधार नआएको भन्दै आफ्नै अनुहारमा मोसो दलेर विरोध प्रदर्शन गरेका थिए।

उनले आफू कुनै पनि पक्षमा मतदान नगर्ने घोषणा गर्दै भनेक थिए, ‘आज म सार्वजनिक अपराध स्वीकार गर्न आएको छु। हामीमध्ये कसैसँग पनि सरकारको नेतृत्व गर्ने नैतिक अधिकार छैन।’
उनको यो कदमले सदनमा केहीबेर खैलाबैला मच्चिएको थियो ।
प्रकाशित: २२ कार्तिक २०८२ १९:३८ शनिबार





