नेकपा एमालेको महासचिव शंकर पोखरेलले सुकुम्बासीहरूलाई मानवीय व्यवहारका साथ अविलम्ब न्यायोचित समाधान दिनुपर्ने बताएका छन्।
थापाथलीको सुकुम्बासी बस्ती खाली गराएपछि सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै पोखरेलले सुकम्बासीहरूले अदृष्य त्रास र आतंकको छायाँमा सरकारको आदेश पालना गरेको तर्फ लक्षित गर्दै बाध्य भएर घरबास छोडेका श्रमिकको आँखा र अनुहारमा पीडा देख्नु पर्ने बताएका छन्।
‘गरिब र श्रमिकहरूको हातले शहर उठ्यो,तिनकै पसिनाले सडक बजार र बस्ती गुल्जार भए’ महासचिव पोखरेले लेख्छन्, ‘आज उनीहरू बाध्य भएर बस्तीबाट टाढिंदै गर्दा केवल नियम पालना भएको उत्सव बनाउनु पर्याप्त होइन। उनीहरूको बेदना बुझेर सम्मानजनक विकल्प दिनु सरकारको जिम्मेवारी हो।’
पूर्ववर्ती सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्नका लागि कानुनी जटिलता महसुस गरेर भूमि आयोग मार्फत समाधानको प्रक्रिया अघि बढाएको पोखरेलले स्मरण गराएका छन्। उनले लेखेका छन्, ‘जनताको लोकप्रिय जनादेश पाएको बालेन सरकारले समस्याबाट आक्रान्त जनताको विश्वास र भरोसालाई सम्मान गर्दै अविलम्ब मानवीय व्यवहारका साथ न्यायोचित समाधान दिनुपर्दछ।’
पोखरेलले सुकुम्बासीको भरोसा टुटेमा त्यसले निम्त्याउने विस्फोटक विद्रोहप्रति पनि सरकारलाई सजग गराएका छन्।
प्रकाशित: १२ वैशाख २०८३ १३:५९ शनिबार





