सरकारले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि लागू गरिएको ६ बुँदे झन्झटिलो प्रावधान खारेज गरेको छ। अब विदेश भ्रमणमा जाने व्यक्तिले स्वः घोषणा गरेकै आधारमा प्रस्थान अनुमति पाउने भएका छन्।
अध्यागमन विभागले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार नयाँ व्यवस्था आजैबाट लागू भएको जनाएको छ।
पुरानो व्यवस्थाले नागरिकलाई सुरक्षा दिनुको सट्टा हैरानी र अनियमितता बढाएको गुनासो आएपछि उक्त प्रावधान खारेज गरिएको विभागले स्पष्ट पारेको छ।
विगतमा भिजिट भिसामा विदेश प्रस्थान गर्दा विभिन्न मापदण्ड र परिपत्र जारी हुँदै आएका थिए।
पछिल्लो पटक २०८० साल माघ १० गतेदेखि लागू भएको ६ बुँदे मापदण्डले धेरै नागरिकलाई अनावश्यक झन्झट दिएको र बिचौलियाको चलखेल बढाएको गुनासो व्यापक थियो।
‘नागरिकको सुरक्षाका लागि भनी गरिएका व्यवस्था र बनाइएका मापदण्ड नै कतिपय अवस्थामा नागरिकलाई हैरानी र अनियमितताका कारक बनेका गुनासाहरु कायमै रहेको यथार्थतालाई आत्मासात् गरी सुधारका कामहरु अगाडि बढाइएको छ,’ विभागको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भिजिट भिसामा प्रस्थान गर्ने नेपालीकै व्यवस्थापनमा अल्झिँदा नेपाल भित्रिने विदेशीको अनुगमन गर्ने मुख्य काम ओझेलमा परेको समेत स्वीकार गरिएको छ।
यसै सन्दर्भमा गठन भएको ‘अध्यागमन र भिजिट भिसाको सम्बन्धमा देखिएका समस्या समाधान गर्नेसम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानबिन समिति, २०८२’ ले पनि उक्त ६ बुँदे मापदण्ड पुनरावलोकन गर्न सिफारिस गरेको थियो।
विभागले अबदेखि कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो यात्राबारे पूर्ण जानकारी लिएर निर्धक्क यात्रा गर्न अनुरोध गरेको छ।
अब भिजिट भिसामा जान यी कागजात आवश्यक
१. कम्तीमा ६ महिना म्याद भएको राहदानी
२. गन्तव्य देशको भिसा (अन-अराइभल भिसाको हकमा नचाहिने)
३. गन्तव्यसम्मको हवाई टिकट
४. भ्रमणको उद्देश्य, आवश्यक कागजात साथमा रहेको र यात्राको परिणामप्रति स्वयं जिम्मेवार रहने व्यहोराको स्वःघोषणा पत्र।
प्रकाशित: १४ कार्तिक २०८२ १५:५६ शुक्रबार


-600x400.jpg)


