उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीको उद्धारका क्रममा आशा जगाउने संकेतहरू देखिएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत घिसिङले यस्तो बताएका हुन्। उनले चिलिमे जलविद्युत कम्पनीको पूर्वप्रबन्ध–निर्देशकका रूपमा विद्युतगृह सञ्चालनको आफ्नो अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव, समन्वय तथा सहजीकरण गरिरहेको बताए।
'चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको उद्धार कार्यमा सहभागी भएको छु। उक्त विद्युतगृहको प्रवर्धक चिलिमे जलविद्युत कम्पनीको प्रबन्ध–निर्देशकका रूपमा विद्युतगृह सञ्चालनको अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव तथा समन्वय एवम् सहजीकरण गरिरहेको छु,' उनले भनेका छन्।
उनका अनुसार विद्युतगृह जाने मुख्य पहुँच सुरुङमा ठूलो मात्रामा जम्मा भएको लेदो, बालुवा र ढुंगा हटाउने काम तीव्र रूपमा भइरहेको छ। उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढिरहेको उनले जानकारी दिएका छन्।
सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्र आवाज पठाउँदा त्यसको इको सुनिएको र सोही स्थानबाट चिसो हावा समेत आइरहेको घिसिङले बताए। यसले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशालाई बल पुगेको उनको भनाइ छ।
उनले अहिले विद्युतगृह पुग्न करिब १०० मिटर मात्र बाँकी रहेको जानकारी उद्धार टोलीबाट प्राप्त भएको जानकारी दिए। 'उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढिरहेको छ। सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्रबाट आवाज पठाउँदा त्यसको इको सुनिएको छ। त्यहाँबाट चिसो हावा समेत आइरहेकोले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशा र अनुमानलाई बल पुगेको छ,' घिसिङले भने, 'अब विद्युतगृह पुग्न करिब १०० मिटर बाँकी रहेको जानकारी छ। यो अवस्थामा प्रत्येक मिटरको प्रगति र प्रत्येक संकेतले हामी सबैमा नयाँ आशा जगाएको छ।'
त्यसैगरी, स्याफ्रुवेसीतर्फबाट स्काभेटरमार्फत सुरुङसम्म पुग्ने बाटो निर्माणको काम पनि तीव्र रूपमा अघि बढिरहेको उनले जानकारी दिएका छन्। आजसम्ममा सुरुङसम्म स्काभेटर पुग्ने सम्भावना रहेको र स्काभेटर तथा लोडर पुगेपछि उद्धार कार्य थप तीव्र हुने अपेक्षा गरिएको छ।
उद्धार कार्य सफल हुने विश्वासका साथ सम्पूर्ण टोली उच्च मनोबलका साथ अहोरात्र खटिरहेको घिसिङको भनाइ छ।
उनले उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन, चिलिमे जलविद्युत कम्पनीका कर्मचारी तथा प्रत्यक्ष–परोक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
घिसिङले सुरुङभित्र रहेका सबै व्यक्तिलाई सकुशल उद्धार गर्न सकियोस् भन्दै उद्धारमा खटिएका सबैको अथक प्रयास सफल होस् भन्ने कामना गरेका छन्।
'यस कठिन र संवेदनशील घडीमा अहोरात्र उद्धार कार्यमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन, चिलिमे जलविद्युत कम्पनीका सम्पूर्ण कर्मचारी तथा प्रत्यक्ष–परोक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु,' उनले भने, 'उद्धारमा खटिनुभएका सबैको अथक प्रयास सफल होस्। सुरुङभित्र रहेका सबै व्यक्तिहरूलाई सकुशल उद्धार गर्न सकियोस्।'
प्रकाशित: २६ भाद्र २०८३ ०९:११ शुक्रबार





