राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको देशव्यापी हस्ताक्षर अभियानबारे प्रश्न उठ्न थालेपछि प्रवक्ता मनिष झाले त्यसको प्रतिवाद गरेका छन्।
उनले पार्टीको अभियानलाई हतियार संकलन नभई हस्ताक्षर अभियान र संकलित रकमलाई घुस नभई स्वैच्छिक चन्दा भएको टिप्पणी गरे।
सोमबार सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै झाले भने, ‘हस्ताक्षर सङ्कलनको अभियान हो, हतियार सङ्कलन गरेको हैन। स्वेच्छाले चन्दा दिनु हुँदै छ, बिचौलियासँग घुस मागेको हैन।’
पार्टी सभापति एवं गृहमन्त्रीसमेत रहेका रवि लामिछाने अहिले थुनामा छन्। रास्वपाले यसलाई ‘प्रतिशोध’ भनेको छ। यसविरुद्ध रास्वपाले हस्ताक्षर सङ्कलन गरेको हो।
पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर लामिछानेले प्रहरी हिरासतबाटै असार ७ गते बीस पृष्ठको एक दस्ताबेज प्रस्तुत गरेका थिए। हस्ताक्षर सङ्कलनको बारेमा उनले त्यहीँ प्रस्ताव गरेका थिए। जसअनुरूप अहिले रास्वपाले हस्ताक्षर सङ्कलन गरिरहेको छ।
रास्वपाको यो हस्ताक्षर अभियानविरुद्ध मुख्यत: सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रश्न उठाइरहेका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरू राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूले मौन-समर्थन गरेको देखिन्छ।
प्रकाशित: ३० असार २०८२ १८:३४ सोमबार





-600x400.jpg)