नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्ताहरूसँग छलफल गरेका छन्। छलफलमा डा. कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजान प्रतिबद्ध रहेको बताए। पार्टीलाई फुटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिए।
कोइरालाले आफू बिष पिएरै भए पनि पार्टीभित्रको एकता कायम गरिछाड्ने अन्तिम प्रयासमा जुटिरहेको बताए।
कोइरालाले भने, ‘म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरूसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुन्न भनेर कुरा गरिरहेको छु।’ उनले अगाडि भने, ‘तपाईंहरू ढुक्क हुनुस्, पार्टी फुट्दैन। तपाईंहरू पनि त्यसैमा लाग्नुस्। निरास हुने कामै छैन।’
उक्त छलफलमा कानुन व्यवसायीहरूले नेपाली कांग्रेसको विधान अनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र भएको बताए। अहिले महामन्त्रीहरूले बोलाएको विशेष महाधिवेशन वैध पनि नभएको र नेतृत्व परिवर्तन गर्न नमिल्ने बताए।
उक्त छलफलमा सबै नेता तथा कार्यकर्ताहरूले पार्टीलाई फुटबाट जोगाउन डा. शेखर कोइरालालाई दुवै पक्षसँग सहजीकरण गरी पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका थिए।
छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू बल ब. केसी, मिनेन्द्र रिजाल, वरिष्ठ अधिवक्ताहरू- शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपाने लगायतको सहभागिता रहेको थियो।
प्रकाशित: २८ पुस २०८२ १२:५६ सोमबार





