नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका दुई नेता गगन थापा र विश्वप्रकाश शर्माको राजनीतिक स्वभावको तुलनात्मक विश्लेषण गरेका छन्।
उनले थापालाई सोझो तर जनआकर्षण भएका वक्ता तथा शर्मालाई अत्यन्त चतुर, दिमागी र खुराफाती राजनीतिक खेलाडी भएको बताए।
नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै डा. कोइरालाले नयाँ पुस्ताको नेतृत्वसँग पार्टी सञ्चालनको स्पष्टता भए-नभएको विषयमा समीक्षा गर्ने क्रममा यस्तो टिप्पणी गरेका हुन्।
दुवै नेताका सबल र दुर्बल पक्ष केलाउँदै डा. कोइरालाले भने, ‘विश्व मान्छे एकदमै सार्प छन्, खुराफाती पनि हुन्। हुन त म विश्वलाई धेरै सम्मान गर्छु, तर उनी राजनीति गर्न एकदमै पर्फेक्ट मान्छे हुन्।’
उनले गगन थापाको स्वभाव भने फरक रहेको बताए। ‘गगन मान्छे सोझो हो। उसले राम्रो भाषण गर्छ, मान्छेलाई आकर्षित गर्न सक्छ, उसका आफ्नै खुबीहरू छन्,’ कोइरालाले अगाडि भने, ‘तर दुई जनालाई तुलना गर्दा दिमागी हिसाबले सार्प विश्व हुन्, गगनचाहिँ सोझो मान्छे हो। राजनीति नै गर्नुपर्यो भने विश्वसँग गर्नुपर्छ भन्ने मेरो धारणा हो।’
कुराकानीका क्रममा डा. कोइरालाले विश्वप्रकाश शर्माको राजनीतिक स्वभावलाई कांग्रेसका दिवंगत समाजवादी चिन्तक प्रदीप गिरीसँग तुलना गरे।
‘बीपी कोइरालाको विचारमाथि प्रश्न उठाउने प्रदीप गिरीको आईक्यू नेपालकै ‘टपमोस्ट’ स्तरको थियो। उहाँले बीपीलाई विचारमाथि रि-थिंक गर्न बाध्य पार्नुहुन्थ्यो,’ कोइरालाले भने, ‘प्रदीप गिरी अलि उच्च स्तरका भए पनि विश्वको दिमाग पनि त्यस्तै चतुर छ। उनी प्रश्नचिह्न खडा गर्छन्, विरोध गर्छन्। राजनीतिमा यस्ता मान्छे हुँदा भड्किन लागेको नेतृत्वलाई ठीक बाटोमा ल्याउन मद्दत पुग्छ।’
‘गगन र विश्व दुवै चाहिन्छ’
‘त्यसो भए अब विश्वप्रकाश शर्मा र तपाईं मिलेर पार्टीलाई सही ठाउँमा ल्याउने हो ?’ भन्ने सम्पादक अधिकारीको प्रश्नमा कोइरालाले सहमति जनाउँदै गगनको महत्त्व पनि उत्तिकै रहेको उल्लेख गरे।
‘एक हिसाबले त्यो ठीक हो, तर हामीलाई गगन पनि चाहिन्छ। गगन सोझो र सरल छ, तर पार्टीको मूल निर्णय त उसैले गर्नुपर्छ,’ कोइरालाको भनाइ थियो।
‘तपाईं र विश्वप्रकाश दुईतिरको सभापति बनेर पछि पार्टी एकीकरण गर्ने हो ?’ भन्ने ठट्टापूर्ण प्रश्नमा डा. कोइरालाले हाँस्दै भने, ‘त्यो पनि हुन सक्ने सम्भावना छ। तर अहिल्यै भविष्यको कुरा नगरौं, महाधिवेशनपछि राजनीतिक घटनाक्रम कसरी अघि बढ्छ हेर्दै जाऔं।’
प्रकाशित: १४ आश्विन २०८३ २०:३७ बुधबार





