नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले आन्तरिक विवाद समाधान नभए वा फुटतिर गए पार्टीको भविष्य अन्धकारतर्फ जाने चेतावनी दिएका छन्।
कांग्रेसको संस्थापन इतर समूहबाट १५औं महाधिवेशन आयोजक समितिका संयोजकसमेत रहेका कोइरालाले अन्धकारतर्फको यात्रा रोक्न पार्टी एकताको विकल्प नरहेको दाबी पनि गरे।
नेपाली कांग्रेसका दुवै पक्ष समानान्तर १५औं महाधिवेशनको तयारीमा जुटेका बेला नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँगको कुराकानीमा कोइरालाले आफू समानान्तर महाधिवेशनको तयारीमा रहे पनि आफ्नो उद्देश्य पार्टी एकता नै भएको बताए।
विशेष महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुगेका गगनकुमार थापा, तत्कालीन सभापति शेरबहादुर देउवासहित पार्टीका नेताहरूबिच खुला संवादबाट सहमति खोजिनुपर्ने कोइरालाले औंल्याए। ‘१५औं महाधिवेशन वास्तवमा एकताको महाधिवेशन हुनुपर्ने हो,’ उनले भने, ‘कांग्रेस एक भए मात्रै बलियो हुन्छ। फुट्यो भने कांग्रेसको भविष्य अन्धकारतर्फ जान सक्छ।’
महाधिवेशनअघि नै संवादमार्फत सहमति खोज्नुपर्नेमा जोड दिँदै कोइरालाले समानान्तर महाधिवेशनको तयारीले एकताका लागि दबाब पुग्ने बताए। समानान्तर महाधिवेशनले पार्टी विभाजनको सम्भावना बढ्न सक्ने स्वीकार गर्दै उनले १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवालाई नै सभापति स्वीकार गरेर महाधिवेशनमा जानुपर्ने तर्क गरे।
देउवाले महाधिवेशन गराएर सम्मानपूर्वक नेतृत्व हस्तान्तरण गर्न चाहेको बताउँदै कोइरालाले राजनीतिक विवादको समाधान राजनीतिक संवादबाटै खोजिनुपर्ने दाबी गरे।
कांग्रेसमा पुस्तान्तरण आवश्यक रहेको स्वीकार गर्दै डा. कोइरालाले युवा पुस्तालाई नेतृत्वमा स्थान दिनुपर्ने बताए तर पुस्तान्तरण पुरानो पुस्तालाई जबर्जस्ती हटाएर नभई स्वाभाविक प्रक्रियाबाट हुनुपर्ने उनको तर्क छ। थापा र विश्वप्रकाश शर्मा दुवै पार्टीका लागि आवश्यक क्षमता भएका नेता रहेको उनले बताए।
कांग्रेस पूर्वमहामन्त्री डा. कोइरालाले धर्म सधैं स्वतन्त्र हुनुपर्ने पक्षमा आफू रहेको बताए। ‘म धर्मबारे एकदमै स्पष्ट छु। धर्म न निरपेक्ष हुन्छ न त सापेक्ष नै हुन्छ, धर्म स्वतन्त्र हुन्छ,’ उनले भने। धर्म व्यक्तिको सोच र निजी आस्थाको विषय भएको तर्क गर्दै भने, ‘राज्यले यसलाई निरपेक्ष वा सापेक्ष भनेर बाँध्नुहुँदैन, व्यक्तिको स्वतन्त्रतामा छोडिदिनुपर्छ।’
प्रकाशित: १५ आश्विन २०८३ ०७:३२ बिहीबार



-600x400.jpg)

