३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

दाहाललाई शर्माले भने: तपाईँको आह्वान जनताले सुन्दैनन्, नेतृत्व हस्तान्तरण गर्नुस्

‘महाधिवेशनबाट यथास्थितिको नवीकरण हुन्न भन्ने सुनिश्चित हुनुपर्छ’

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विशेष महाधिवेशन घोषणा गर्दा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड)सहित दशकौँदेखि एउटै पदमा रहेका सबै पदाधिकारीले सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव राखेका छन्। बिहीबार केन्द्रीय समिति बैठकमा फरक धारणा राख्दै शर्माले अब महाधिवेशनबाट पुरानै नेतृत्व नवीकरण नहुने अवस्था सुनिश्चित हुनुपर्ने बताएका हुन्। 

‘हाम्रो पार्टीको महाधिवेशन घोषणा गर्दा अध्यक्ष कमरेड प्रचण्डसहित दशकौँदेखि एउटै पदमा रहेका हामी सबै पदाधिकारी सामूहिक राजीनामा दिऔँ,’ उपमहासचिव शर्माले भने, ‘र, आगामी महाधिवेशनमा निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय यसै बैठकबाट गरौँ।’ 

उनले नयाँ पुस्ताको नेतृत्वलाई सहयोग गर्ने प्रतिबद्धतासहित अध्यक्ष दाहाल तथा सबै पदाधिकारी निर्देशक कमिटीको रूपमा काम गर्ने गरी संयन्त्र निर्माण गर्न प्रस्ताव राखेका छन्। ‘निर्देशक कमिटीले महाधिवेशनबाट निर्वाचित नयाँ पुस्ताको नेतृत्वलाई सघाउने प्रतिबद्धता जाहेर गरौँ,’ शर्माले अगाडि भने। यो विकल्पले पुरानो नेतृत्वको योगदान, सम्मान र मूल्यांकन मात्र नभई पार्टीको नवजीवनको सुनिश्चित गर्ने पनि उनले बताए। 

अन्यथा, विगतका महाधिवेशन जस्तै ९० प्रतिशत हलले पुरानै अध्यक्ष भएको र अध्यक्षले फरक घोषणा गरेको अवस्था दोहोरिने पनि उनले बताए।  ‘महाधिवेशन यथास्थितिको रिन्यु होइन भन्ने कुरा सुनिश्चित गर्नै पर्छ,’ शर्माले भने। 

जनताको समर्थनका लागि ‘जनताले सुन्ने गरी नयाँ अनुहार’ अगाडि सार्न जरुरी रहेको पनि उनले बताए। ‘अहिलेकै नेतृत्वबाट गरिने अपिल जनताबाट सुनिने अवस्था छैन,’ उनले भने, ‘त्यसैले आ–आफ्ना कमीकमजोरीको आत्मालोचना गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरौँ।’ 

यसको अर्थ अध्यक्ष प्रचण्डले गरेका योगदान र टिमको भूमिकालाई नजरअन्दाज गर्न नखोजेको पनि उनले बताए। 

प्रकाशित: ९ आश्विन २०८२ १५:५० बिहीबार