१८ कार्तिक २०८३ बुधबार
image/svg+xml
राजनीति

राज्य व्यवस्था समिति बैठक बोलाउन सभापतिलाई शाहीको आग्रह, प्रहरी–सरकारबीचको तनावबारे छलफल गर्न माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समिति सदस्य ज्ञानेन्द्र शाहीले प्रहरी र सरकारबीच देखिएको तनावसहित पछिल्लो समय सार्वजनिक भएका विवादास्पद घटनाबारे छलफल गर्न समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।

शाहीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाललाई पत्र लेख्दै नेपाल प्रहरीका महानिरीक्षक र सरकारबीच देखिएको तिक्तता, पत्रकार पक्राउ, राज्यशक्तिको दुरुपयोग तथा प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनको निवासमा प्रहरी हिरासतमा रहेका व्यक्तिको मोबाइल फोन जफत गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएका हुन्।

उनले राज्यशक्ति र सुरक्षा निकायको अधिकार प्रयोगसँग जोडिएका यी घटनाले सुशासन र कानुनी शासनमाथि प्रश्न उठाएको उल्लेख गर्दै समितिबाट तत्काल छलफल र आवश्यक छानबिन हुनुपर्ने माग गरेका छन्।

शाहीले प्रस्तावित बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र नेपाल प्रहरीका महानिरीक्षकलाई अनिवार्य रूपमा उपस्थित गराउन पनि आग्रह गरेका छन्। सम्बन्धित पदाधिकारीसँग घटनाबारे स्पष्ट जवाफ माग्ने व्यवस्था मिलाउन उनले समितिका सभापतिसमक्ष अनुरोध गरेका छन्।

राज्य व्यवस्था र सुशासनसँग प्रत्यक्ष सम्बन्धित विषयमा संसदीय समितिले आफ्नो निगरानी भूमिका प्रभावकारी बनाउनुपर्ने उनको माग छ।

पछिल्लो घटनाक्रममा प्रहरी नेतृत्व र सरकारबीचको सम्बन्ध, अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका व्यक्तिको मोबाइलमा अन्य निकायको पहुँच तथा पत्रकारमाथि भएको प्रहरी कारबाही विवादमा छन्। शाहीको मागले यी विषयलाई संसदीय छानबिन र जवाफदेहिताको दायरामा ल्याउनुपर्ने बहसलाई थप अघि बढाएको छ।

प्रकाशित: १८ कार्तिक २०८३ १२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App