२७ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

बुढीगंगाको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

मोरङको बुढीगंगा गाउँपालिकाले सोमबारदेखि नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । साँघुरो भवनबाट सेवा दिँदै आएको गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा प्रशासनिक कामकाज अघि बढाएको हो ।

गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै  आफूले गरेको प्रतिबद्धताअनुसार भवन निर्माणको काम सम्पन्न गरी सञ्चालनमा ल्याउन सफल भएको बताए । उनले नयाँ भवन सञ्चालनमा आएसँगै गाउँपालिकाको संस्थागत विकास, प्रशासनिक सुदृढीकरण, सुशासन र समृद्धिको यात्रामा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

संघीय र स्थानीय सरकारको लागत साझेदारीमा निर्माण गरिएको उक्त भवनका लागि ८ करोड ७६ लाख ४० हजार ६ सय ५३ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । २०८१ साल साउन २० गते सुनसरीको धरान–१३ स्थित ब्राइट भुल निर्माण कम्पनीसँग सम्झौता भएको भवन २०८३ साल मंसिर २० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । निर्माण कम्पनीले निर्धारित समयअगावै भवन निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गरेको जनाइएको छ ।

संघीय सरकार र स्थानीय सरकारको लागत साझेदारीमा निर्माण सम्पन्न गरिएको गाउँपालिकाको प्रशासनिक भवनको ७ करोड ५५ लाख रुपैयाँ निर्माण कम्पनीलाई दिएको र थप रकम दिन बाँकी रहेको पनि गाउँपालिकाले जनाएको छ ।  

पर्याप्त स्थानको अभावमा सेवा प्रवाहमा असहजता हुँदै आएको अवस्थामा ९ कठ्ठा २ धुर क्षेत्रफलमा निर्माण गरिएको आधुनिक नयाँ भवनले प्रशासनिक कामकाजलाई व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

नयाँ भवन सञ्चालनमा आएसँगै गाउँपालिकाका सातवटै वडाबाट आउने सेवाग्राहीलाई सहज, छरितो र व्यवस्थित सेवा उपलब्ध गराउन सहयोग पुग्ने स्थानीयको अपेक्षा छ । 

प्रकाशित: २६ आश्विन २०८३ २०:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App