राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री बालेन्द्र शाहलाई सिंगापुरका पूर्वप्रधानमन्त्री ली क्वान यूको शैलीमा काम गर्न सुझाव दिएका छन्।
प्रधानमन्त्री शाहको कदमलाई समर्थन गर्दै उनले सरकारी क्षेत्रका दलीय भातृ संगठनहरू खारेज गर्नुपर्नेमा जोड दिएका हुन्। सामाजिक सञ्जाल एक्समार्फत बालेन्द्रलाई सम्बोधन गर्दै उनले सुशासन र शिक्षाको गुणस्तर सुधारका लागि यस्तो कदम अनिवार्य रहेको बताएका छन्।
मिश्रले लेखेका छन्, ‘शिक्षक, प्राध्यापक, निजामति कर्मचारी जस्ता सरकारी वेतनधारीको दलीय भातृ संगठन खारेज गर्नै पर्छ- त्यसको खारेजीबिना सुशासनको कल्पनै नगरे हुन्छ।’ उनले नेपालको सार्वजनिक शिक्षाको गुणस्तर बढाउन दलीय विद्यार्थी संगठनको खारेजी पनि उत्तिकै आवश्यक रहेको उल्लेख गरे।
वरिष्ठ उपाध्यक्ष मिश्रले अगाडि लेखेका छन्, ‘हो, गर्नु पर्ने अरू धेरै काम छन् तर क्रमश: सुशासन र दक्ष जनशक्ति उत्पादनका लागि माथिका दुई गर्नै पर्ने प्रमुख काम हुन्।’
आफूले राजनीति सुरु गरेदेखि नै यी मुद्दाहरू निरन्तर उठाउँदै आएको स्मरण गर्दै मिश्रले सरकार यी एजेन्डा पूरा गर्ने दिशामा अघि बढेको देख्दा खुसी लागेको बताएका छन्। साथै, उनले प्रक्रिया पुर्याएर काम गर्न सुझाव दिएका छन्। प्रक्रिया नपुग्दा सर्वोच्च अदालतले अंकुश लगाउन सक्नेप्रति उनले सचेत गराए।
मिश्रले प्रधानमन्त्री शाहलाई लोकतान्त्रिक रहन अनुरोध समेत रहेका छन्। तर विधिको शासन कायम राख्न सिंगापुरका पूर्वप्रधानमन्त्री ली क्वान यू जस्तै दृढ बन्न सुझाव पनि उनले दिएका छन्।
उनले लेखेका छन्, ‘लोकतान्त्रिक रहनुहोस्, कानूनको शासनलाई समर्थन गर्नुहोस्। तर यस प्रकारका मुद्दाहरूको सामना गर्दा ली क्वान यू जस्तै दृढ रहनुहोस्।’
सन् १९५९ देखि १९९० सम्म सिंगापुरका प्रधानमन्त्री रहेका यूलाई आधुनिक सिंगापुरका जन्मदाता मानिन्छ। उनकै गतिशील नेतृत्वमा सिंगापुरले विकासमा तीव्र फड्को मारेको थियो। सन् १९२३ मा जन्मिएका उनको २०१५ मा निधन भएको थियो।
हेर्नुस् उनको एक्स पोस्ट
प्रकाशित: ७ वैशाख २०८३ १०:२० सोमबार





