सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रको व्यावसायिकता, विश्वसनीयता र संस्थागत गरिमा जोगाउन समग्र पत्रकारिता क्षेत्रले आफ्ना कमजोरीको निर्मम समीक्षा गर्न आवश्यक गरेको बताएका छन्।
‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोह २०८३’ लाई सम्बोधन गर्दै उनले पत्रकारिता आफैँमा एउटा संस्था भएकाले यसको शाख, मर्यादा र विश्वसनीयता जोगाउने जिम्मेवारी समग्र पत्रकारिता क्षेत्रको भएको बताए।
‘पत्रकारिता भनेको आफैँमा एउटा संस्था हो। यो संस्थाको गरिमा हामी सबैले सामूहिकरूपमा जोगाउने र यसको स्तर उन्नति गर्ने हो। हाम्रो पत्रकारिताको शाख के कुराले कमजोर बनाइरहेको छ भन्ने कुरा सोच्ने जिम्मेवारी हरेक पत्रकारको हो’, उनले भने।
सञ्चारमन्त्री डा तिमिल्सिनाले पत्रकारिताको मूल मर्म र व्यावसायिक मूल्यलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिँदै कस्तो पत्रकारिता र कस्ता सञ्चार संस्था निर्माण गर्ने भन्ने मूल प्रश्नको जवाफ खोज्नुपर्ने बताए।
‘हामीले कस्तो पत्रकारिता बनाउन खोजेका हौँ, कस्ता संस्था निर्माण गर्न खोजेका हौँ र कस्तो पत्रकारिता क्षेत्र निर्माण गर्न चाहन्छौँ भन्ने मूल प्रश्नको जवाफ दिनुपर्छ’, उनले भने।
प्रकाशित: ७ आश्विन २०८३ १७:५७ बुधबार




-600x400.jpg)
