२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

सर्लाही-४: गगनकाे उम्मेदवारीले मतदाता उत्साहित

सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ लाई नेपाली कांग्रेसको विशेष पकड क्षेत्र मानिन्छ। त्यसमाथि फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा यसै क्षेत्रबाट उम्मेदवार बनेपछि यहाँको चुनावी रौनक र चर्चा बढेको छ। सर्लाही–४ बाट थापा उम्मेदवार बनेपछि यो जिल्ला मात्र होइन, पूरै मधेसमा राजनीतिक तरंग पैदा भएको छ। सिंगै देशको ध्यान तानेको सर्लाही–४ को चुनावलाई लिएर चोकचोक, बस्तीबस्ती र चिया पसलमा अनेक अड्कलबाजी गर्न थालिएको छ।

अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा नेपाली कांग्रेसबाट टिकट नपाएपछि अमरेशकुमार सिंहले यसै क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएर विजय हात पारेका थिए। उनी कांग्रेस मतदाताकै मतबाट निर्वाचित भएका थिए।

सर्लाही–४ बाट कांग्रेसकै मतले प्रतिनिधिसभा सदस्यमा लगातार दुई पटक निर्वाचित सिंह यस पटक भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिकटमा उम्मेदवार बनेका हुन्।

सर्लाही–४ मा नेपाली कांग्रेसबाट थापा, रास्वपाबाट सिंह, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट रजनिश राय, नेकपा एमालेबाट अमनिषकुमार यादवसहित दलीय र स्वतन्त्र गरी ३९ जना उम्मेदवार मैदानमा छन्।

यसअघि २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएपछि विद्रोही उम्मेदवार बनेका सिंह २० हजार १७ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका आधिकारिक उम्मेदवार नागेन्द्र कुमार १८ हजार २५३ मतसहित दोस्रो भएका थिए।

तत्कालीन नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शिवपुजन रायकी छोरी मधुमाला रायले १४ हजार ६२२ मत पाएकी थिइन्। उनी स्वतन्त्र उम्मेदवार थिइन्। त्यस्तै उक्त निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राकेश मिश्रले ५ हजार ८१३ मत र बहुजन एकता पार्टीका उम्मेदवार राजाराम पासवानले ५ हजार १५८ मत प्राप्त गरेका थिए।

यसैगरी २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–४ बाट अमरेशकुमार सिंह २९ हजार ६७५ मतसहित निर्वाचित भएका थिए। त्यतिबेला नेपाली कांग्रेसको टिकटमा निर्वाचित भएका सिंहका निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उम्मेदवार राकेश मिश्रले २८ हजार १३६ मत पाएका थिए। अन्य उम्मेदवारले जमानतसमेत जोगाउन सकेका थिएनन्।

सर्लाही–४ मा शिवपुजन रायको व्यक्तिगत प्रभावले चुनावी नतिजा तलमाथि पर्दै आएको  बुद्धिजीवी बताउँछन्। यस पटक उनले कान्छा छोरा अमनिषकुमार यादवलाई एमालेबाट उम्मेदवार बनाएका छन्। आफूले नेकपाबाट टिकट नपाएपछि शिवपुजनले छोरा अमनिषकुमारलाई एमालेबाट उम्मेदवार बनाएका हुन्। शिवपुजनले २०७९ सालको स्थानीय तह चुनावमा अर्का छोरा राजाबाबु यादवलाई रामनगर गाउँपालिकाको अध्यक्षमा उम्मेदबार बनाएर जिताएका थिए।

यस पटक नेपाली कांग्रेसका सभापति थापा पनि यसै क्षेत्रबाट उम्मेदवार बनेपछि चुनावी प्रतिस्पर्धा रोचक बन्न पुगेको छ। थापा र सिंह यसअघि दलीय आधारमा सहयात्री थिए। यसपटक थापा आफूले प्रतिनिधिसभा सदस्य जित्दै आएको निर्वाचन क्षेत्र काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवार बनेका हुन्। अघिल्लो चुनावमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रबाट निर्वाचत सिंह अहिले रास्वपामा पुगेका छन्।

सर्लाही–४ मा मुख्य गरी त्रिपक्षीय प्रतिस्पर्धा हुने संकेत देखापरेको छ। नेपाली कांग्रेसका थापा, रास्वपाका सिंह र एमालेका यादवबिच कडा प्रतिस्पर्धा हुने मतदाता बताउँछन्।

सर्लाहीमा सुसुप्त रहेको कांग्रेस सभापति थापाले क्षेत्र नम्बर–४ बाट उम्मेदवारी दिएपछि जुरमुराएको छ। जसको लाभ थापालाई मिल्ने देखिन्छ। थापाले बदलिँदो परिस्थितिमा कांग्रेस पनि बदलिएको दाबी थापाले गरिरहेका छन्।

स्थानीय तह निर्वाचन–२०७९ मा सर्लाही–४ मा पर्ने बलरा नगरपालिकाका ६ वटा वडा, गोडैता नगरपालिकाका २ वटा वडा, रामनगर गाउँपालिकाका २ वटा वडा, विष्णु गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित दुई वटा वडामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। त्यस्तै बरहथवा नगरपालिकाको एउटा वडा, बसबरियाका दुई वटा वडा र धनकौल गाउँपालिकाको प्रमुख, उपप्रमुखसहित ४ वटा वडामा कांग्रेसले जित हात पारेको अवस्था छ।

रास्वपाबाट उम्मेदवार बनेका सिंह पनि ‘ह्याट्रिक’ गर्ने  दाउमा छन्। उनले देशमा परिवर्तनका लागि आफ्नो उमेदवारी रहेको दाबी गरेका छन्। उनले बालेन्द्र शाहलाई भावी प्रधानमन्त्री र आफूलाई भावी मन्त्री बनाउन पनि यस पटक जनताले रास्वपाका उम्मेदवारलाई जिताउने दाबी गर्छन्।

एमालेका उम्मेदवार यादव संविधानसभा सदस्य एवं सर्लाहीका चर्चित नेता शिवपूजन यादवका कान्छा छोरा हुन्। निर्वाचन क्षेत्र नम्बर–४ को दक्षिणी भेगमा पर्ने बलरा र गोडैता नगरपालिका तथा रामनगर र धनकौल गाउँपालिकामा शिवपूजन परिवारको पकड राम्रो रहेको स्थानीय बताउँछन्।

अघिल्लो स्थानीय तह निर्वाचनमा बलरा नगरपालिका, रामनगर र धनकौल गाउँपालिकाका एक–एक वडा तथा गोडैता नगरपालिकाका ३ वटा वडा र बरहथवा नगरपालिकाका ४ वटा वडामा एमाले विजयी भएको छ।

प्रकाशित: २२ माघ २०८२ ०६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App