खोटाङको साकेला गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य आर्थिक अभावका कारण लामो समयदेखि अलपत्र अवस्थामा पुगेको छ।
आर्थिक वर्ष ०७९/८० देखि सुरु गरिएको भवन निर्माण अझै पूर्ण हुन सकेको छैन। निर्माण कम्पनीसँग ०८० पुस २० गतेसम्म काम सम्पन्न गर्ने गरी सम्झौता भए पनि बजेट अभाव र समयमै रकम निकासा नहुँदा कार्यमा ढिलाइ भएको हो।
प्राविधिक इस्टिमेट करिब १७ करोड ९० लाख रुपैयाँ भए पनि ठेक्का प्रतिस्पर्धामा करिब ७ करोड ६२ लाख रुपैयाँमा सम्झौता गरिएको थियो। संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानी रहने व्यवस्था भए पनि आवश्यक बजेट समयमा उपलब्ध नभएकाले निर्माण कार्य रोकिएको छ। गत वर्ष संघीय सरकारले केही रकम पठाए पनि पूर्ण रकम नआएकाले भवन सम्पन्न हुन सकेको छैन।
भवनको प्लास्टर, टायल, रङरोगन तथा वायरिङ जस्ता कामहरू सम्पन्न भए पनि फिनिसिङका लागि अझै बजेट आवश्यक छ। गाउँपालिकाका अनुसार पुरानो भवनबाट सेवा सञ्चालन भइरहेको भए पनि संरचना साँघुरो र असुविधाजनक छ। नयाँ भवन निर्माण नहुँदा सेवा प्रवाह प्रभावकारी बनाउन कठिनाइ भइरहेको छ। बजेट सुनिश्चित भएसँगै बाँकी काम पूरा गर्ने प्रयास भइरहेको जनाइएको छ।
प्रकाशित: ८ चैत्र २०८२ २०:०३ आइतबार



-600x400.jpg)

