५ वैशाख २०८३ शनिबार
image/svg+xml
राजनीति

साहको आरोप: जनमत पार्टी भ्रष्टाचारको दलदलमा डुब्यो, दलालहरूको अखडा बन्यो

पार्टीबाट निष्कासित राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साहले जनमत पार्टी दलालहरूको अखडा बनेको आरोप लगाएका छन्। गत असार २२ गते साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेपछि साहले पार्टी दलालहरूको अखडा बनेको आरोप लगाएका हुन्।

‘जनमत पार्टी, जो जनताको आवाज बन्नुपर्ने थियो, आज दलाल, पुँजी र अवसरवादी तत्त्वहरूको अखडामा परिणत भएको छ,’ शुक्रबार (आज) एक विज्ञप्ति जारी गर्दै साहले भनेका छन्।

साहले पार्टीमा पद र सरकारी जिम्मेवारी पाउन लाखौं रुपैयाँको मोलमोलाइ हुने, पैसाका आधारमा नीति निर्णय हुने गरेको समेत उल्लेख गर्दै उक्त अवस्था सुशासन नभई भ्रष्टाचारको संस्थागत संरचना भएको बताएका छन्।

सँगै उनले पार्टी भ्रष्टाचारको दलदलमा डुबेको पनि बताएका छन्। ‘सांसद भएपछि सम्पत्ति विस्तार, भव्य घर, सरकारी नियुक्तिमा करोडौंको लेनदेन, पार्टीको आम्दानीलाई सहयोगको नाममा वैद्य ठहर्‍याउने यी सबैले देखाउँछ कि पार्टी अब भ्रष्टाचारको दलदलमा डुबेको छ,’ साहको आरोप छ।

साहले नेतृत्वले ‘प्रयोग गर र फाल’ को नीति अवलम्बन गरेको टिप्पणीसमेत गरेका छन्। ‘नेतृत्वले पुराना र इमानदार कार्यकर्तालाई सकेसम्म उपयोग गरेर, प्रश्न उठाउनेबित्तिकै झुटो आरोपमा निष्कासन गर्ने ‘प्रयोग गर र फाल’ नीति अपनाएको छ। मलाई ‘अध्यक्षविरुद्ध काम गरेको’ आरोपमा निलम्बन गर्नु र गुनासोहरूलाई ‘असन्तोषजनक’ भन्दै खारेज गर्नु यसको प्रत्यक्ष प्रमाण हो,’ उनले विज्ञप्तिमा लेखेका छन्।

साह र पार्टी उपाध्यक्ष चन्द्रकान्त राउतका बीचमा विगत एक वर्षयता राम्रो सम्बन्ध थिएन। यसअघि साहलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको थियो। निलम्बनको समय सकिनासाथ उनलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो।

प्रकाशित: २३ श्रावण २०८२ १८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App