८ आश्विन २०८२ बुधबार
image/svg+xml ५:४३ पूर्वाह्न
राजनीति

फुटको हल्ला ‘अतिरञ्जित’, समाजवादी मोर्चासँग एकता वार्ता तीव्र: वर्षमान

फाइल।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीभित्र देखिएका अन्तरविरोधले विभाजन नल्याउने दाबी गर्दै समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता वार्ता तीव्र गतिमा अघि बढेको बताएका छन्।

शनिबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरद्वन्द्वलाई सञ्चारमाध्यम र केही व्यक्तिहरूले अतिरञ्जित गरेको आरोप लगाए।

‘बाहिर आएका मतभेदका विषयहरू पार्टीभित्र छलफलबाटै टुंग्याउँछौँ। मिडिया र अन्य मान्छेले हल्ला गरेजस्तो पार्टी फुट्छ भन्ने कुरामा कुनै सत्यता छैन, त्यो पूरा हुन दिँदैनौँ,’ पुनले दृढतापूर्वक भने, ‘अध्यक्ष प्रचण्डकै नेतृत्वमा पार्टीलाई थप एकताबद्ध बनाएर लैजान्छौँ।’ उनले पार्टीभित्र आफ्ना कुरा राख्दैमा कसैलाई कारबाही नगरिने र गुटबन्दी अन्त्य गरेर अघि बढ्ने स्पष्ट पारे।

उपमहासचिव पुनले विचार मिल्ने दलहरूसँगको एकतालाई पार्टीले औपचारिक एजेन्डा बनाएर अघि बढाएको सुनाए। उनका अनुसार, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपासँग एकताका लागि निरन्तर छलफल भइरहेको छ।

‘समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता गर्नका लागि पार्टीको एजेन्डा नै बनाएका छौँ। विचार र प्रवृत्ति मिल्नेसँग एकताबद्ध हुनु स्वाभाविक हो,’ पुनले भने, ‘हामी धेरै हल्लाखल्ला नगरी संयमित ढंगले छलफल अघि बढाइरहेका छौँ।’

उनले पार्टी एकताको प्रक्रियामा केही शक्तिले अवरोध सिर्जना गर्न खोजेको र भ्रम फैलाइरहेको समेत बताए। ‘कतिपय मानिसहरू एकता हुन लागेपछि धेरै भ्रम फैलाउने र एकता हुन नदिने कोसिस गर्छन्। तर, हामी नियमित छलफल र बहसबाट मतभेद साँघुर्याउँदै जानेछौँ,’ उनले थपे।

जारी स्थायी कमिटी बैठकले यीलगायतका विषयमा ठोस निष्कर्ष निकाल्ने पुनले जानकारी दिए।

प्रकाशित: १७ श्रावण २०८२ १६:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 100 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App