राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निर्वाचनमा उम्मेदवार छनोटका लागि केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूलाई परिचालन गर्ने निर्णय गरेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्यहरुलाई ४६० गाउँपालिकामा स्थानीय निर्वाचन उम्मेदवार छनोट रुपरेखा लगायतका विषयहरुमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न परिचालित गर्ने निर्णय गरेको हो। जसको लागि सह–महामन्त्री निशा डाँगीलाई अभियानको संयोजन तोकेको छ।
त्यसैगरी, पार्टीले असोज महिनादेखि ‘स्वतन्त्र’ नामको मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णय गरेको छ।
यस्तै, मधेश प्रदेशमा जिल्ला तथा प्रदेश अधिवेशन सुरु गर्नुअघि संगठनको अवस्था मूल्याङ्कन गर्न सह–महामन्त्री हरि ढकालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरिएको छ। उक्त समितिमा मधेश प्रदेशबाहेकका प्रदेशका केन्द्रीय समिति सदस्यहरू पनि रहने जनाइएको छ।
यस्तै, बैठकले स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिगठन गर्न इच्छुक केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूबाट नामावली माग गर्ने निर्णय पनि गरिएको छ।
त्यसैगरी, ‘राइट टु रिकल’ सम्बन्धी पार्टीको आधिकारिक दस्तावेज तयार गर्न महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति पनि गठन गरेको छ।
प्रकाशित: ५ भाद्र २०८३ १८:१६ शुक्रबार


-600x400.jpg)

-600x400.jpg)
