भ्रष्टाचार, नातावाद र कृपावादविरुद्ध आवाज उठाउँदै भदौ २३ मा भएको जेन–जी आन्दोलनको मर्म विपरीत नयाँ भनिएका राजनीतिक दलहरू नै उभिएको आरोप लाग्न थालेको छ। विशेष गरी प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची पेस गर्दा यस्तो आरोप सतहमा आएको हो।
पुराना दलका खराब प्रवृत्ति पाखा लगाउने दाबी गर्दै आएका नयाँ दलले बन्द सूची पेस गर्दा पुरानाभन्दा अझै एक कदम अघि बढेर विकृतिलाई निरन्तरता दिएको आरोप स्वयं जेन–जी अभियन्ताहरूले लगाएका छन्।
आलोचनाको केन्द्रमा यति बेला नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छ। रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा ‘नेपो बेबी’, ‘नेपोटिजम’, छचल्किएकोदेखि सेलिब्रिटी, भाइरल अनुहार समेटिएकामा व्यापक विरोध भइरहेको छ। सीमान्तकृत समुदायको प्रतिनिधित्व हुनुपर्ने प्रणालीमा सुदूरपश्चिम र कर्णाली जस्ता दुर्गम भूगोललाई बेवास्ता गर्दै रास्वपाले तयार गरेको बन्द सूचीमाथि जेन–जी अभियन्ताले आक्रोश पोखिरहेका छन्।
जेन–जी अभियन्ता रक्षा बमले रास्वपाको नामै प्रस्ट उल्लेख नगरी आक्रोश पोखेकी छन्। उनले राजनीतिक दलहरूले समानुपातिक प्रतिनिधित्व प्रणालीलाई सांसद पदको ‘विक्री केन्द्र’ नै बनाएको आरोप लगाएकी छन्। सामाजिक सञ्जालमा लेख्दै बमले संविधानले लामो समयदेखि पछाडि पारिएका समुदाय, भूगोल र आवाजलाई संसदमा प्रतिनिधित्व गराउने उद्देश्यका साथ ल्याइएको समानुपातिक प्रणालीले त्यही कुरालाई बेवास्ता गरेको आरोप लगाएकी छन्। ‘मेरो सुदूर अझै पनि सुदूर नै छ,’ सुदूरपश्चिम घर भएकी अभियन्ता बमले लेखेकी छन्, ‘त्यहाँका समुदाय र भूगोललाई केन्द्रले बिर्सिरहेको छ। सुदूरपश्चिम पनि यही देशको मानचित्रभित्र पर्छ, त्यसैले सधैँ उपेक्षा गर्न मिल्दैन।’
अर्की अभियन्ता भावना राउतले नयाँ भनिएका दलबाट भएको यस्तो विकृति जेन–जी पुस्ताले अन्धभक्त बनेर स्वीकार गर्न नसक्ने बताएकी छन्। रास्वपाले समानुपातिक सूची नसच्याइए प्रत्यक्षतर्फ उम्मेदवार हेरेर मतदान गरिने तर समानुपातिकतर्फ अन्धाधुन्ध समर्थन गर्न नसकिने प्रस्ट पारेकी छन्। ‘नयाँ शक्तिलाई समर्थन गर्नु भनेको प्रश्न नगर्नु होइन, बरु आलोचना र जबाफदेही बनाउनु हो,’ उनले भनेकी छन्।
अभियन्ता माजिद अन्सारीले समानुपातिक प्रणाली संविधानअनुसार कार्यान्वयन नभएको टिप्पणी गरे। रास्वपाको बन्द सूचीमा धेरै जना समेटिएको चितवन र मोरङजस्ता जिल्लाबाट पनि आदिवासी, थारु, कोच–राजवंशी, गन्गाई, सन्थालजस्ता रैथाने समुदायको प्रतिनिधित्व नगराइएको आरोप लगाए।
रास्वपाकी नेतृ तोसिमा कार्कीले पनि सार्वजनिक रूपमा असन्तुष्टि व्यक्ति गरेकी छिन्। उनले समानुपातिक प्रणालीको उद्देश्य पहुँच, शक्ति र भूगोलका कारण पछाडि परेका सक्षम नागरिकलाई संसदमा पु¥याउनु भएको बताउँदै पार्टीका पदाधिकारी र सचिवालय सदस्यहरू सधैँ ‘पोजिसन अफ बेनिफिट’ मा रहनु यसको मर्म विपरीत भएको बताएकी छिन्।
राजनीतिक विश्लेषक नवीन तिवारीले नयाँ भनिएको दलको बन्द सूची हेर्दा समानुपातिक प्रणालीप्रति नै नकारात्मक भाष्य बन्ने खतरा पैदा भएको बताए। ‘यो सूचीले समानुपातिक प्रणाली खारेज गर्नुपर्छ भन्ने धारणालाई मलजल गर्ने काम गरेको छ,’ उनले भने, ‘तर, समस्या प्रणालीमा होइन, यसको प्रयोग गर्ने राजनीतिक इच्छाशक्तिमा हो।’ रास्वपाले जसरी दलहरूले सेलिब्रेटी र चर्चित अनुहारलाई प्राथमिकता दिँदा समानुपातिक प्रणालीको मूल मर्म नै संकटमा परेको उनले बताए।
रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले भने विभिन्न पार्टी–समूहको एकता गर्दा केही समस्या भएको बताए। तर बन्द सूची तयार गर्दा प्राइमरी इलेक्सन, राजनीतिक प्रोक्सिमिटी र लिडरसिप एकेडेमीमार्फत गरिएको दाबी गरे।
प्रकाशित: १६ पुस २०८२ १६:०५ बुधबार





