१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपा महाधिवेशन: ६ पदाधिकारी चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

राति नै अन्तिम नतिजा घोषणा गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत नेतृत्व चयनको प्रक्रिया अब निर्णायक चरणमा पुगेको छ। सभापतिमा रवि लामिछाने निर्विरोध चयन भइसकेपछि अब पार्टीका महत्वपूर्ण ६ पदाधिकारीका लागि बिहीबार राति मतदान हुने भएको छ।

निर्वाचन कार्यतालिका पाँचौँ पटक संशोधन गर्दै निर्वाचन समितिले राति ९:१५ बजेदेखि १२:१५ बजेसम्म मतदान हुने जनाएको छ। मतगणना सम्पन्न भएपछि राति १:३० बजे अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।

अब निर्वाचनमा दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि प्रतिस्पर्धा हुनेछ। पार्टीभित्र यी पदहरूलाई आगामी संगठन निर्माण र शक्ति सन्तुलनका हिसाबले निकै महत्वपूर्ण मानिएको छ।

निर्वाचन प्रक्रिया सुरु हुनुअघि बिहीबार साँझ ६:३० बजेदेखि ७ बजेसम्म उम्मेदवारी फाराम वितरण गरिनेछ भने राति ८ बजे दाबी–विरोध सम्बन्धी प्रक्रिया टुंग्याइने निर्वाचन समितिले जनाएको छ।

पहिलो चरणको निर्वाचन परिणाम सार्वजनिक गर्न अपेक्षाभन्दा बढी समय लागेपछि निर्वाचन कार्यतालिका पटक–पटक संशोधन गरिएको बताइएको छ। यसअघि १९ पदाधिकारीमध्ये सभापति पदमा रवि लामिछाने निर्विरोध चयन भइसकेका छन्।

यद्यपि बाँकी ६ पदमा चुनाव हुने तयारी भए पनि अन्तिम समयसम्म सहमतिको प्रयास जारी रहेको पार्टी प्रवक्ता मनिष झाले बताएका छन्। यदि सहमति जुटेमा मतदान नै नहुने सम्भावना पनि रहेको छ।

रास्वपाको विधानअनुसार सभापतिलाई संगठनभित्र महत्वपूर्ण पदमा मनोनयन गर्ने विशेष अधिकार दिइएको छ। विधानमा एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सह–कोषाध्यक्ष सभापतिले मनोनीत गर्न सक्ने व्यवस्था छ।

पार्टीको केन्द्रीय समिति १५१ सदस्यीय रहनेछ, जसमा सात प्रदेशका पदाधिकारी पदेन सदस्य रहनेछन्। तीबाहेक ५१ सदस्य मनोनीत गर्ने अधिकार सभापतिलाई दिइएको छ।

प्रकाशित: ११ असार २०८३ १७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App