राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागी हुने अधिकांश प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्।
चितवनको भरतपुरमा शनिबार बसेको केन्द्रीय समितिको बैठकमा प्रतिनिधिहरूले जनही ५ हजार रुपैयाँका दरले शुल्क बुझाएको जानकारी दिइएको हो।
प्रतिनिधि व्यवस्थापन उपसमितिकी संयोजक लिमा अधिकारीले बैठकमा गराएको जानकारीअनुसार हालसम्म ३ हजार ९ सय ९० जना प्रतिनिधिले आफ्नो सहभागिता शुल्कबापतको रकम बुझाइसकेका छन्।
रास्वपाका प्रवक्ता मनिष झाले बैठकको तयारी र सांगठनिक विवरणबारे जानकारी दिँदै अधिकांश प्रतिनिधिहरूले तोकिएको प्रक्रिया पूरा गरिसकेको बताए।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको विवरण संकलन गरी अन्तिम प्रमाणीकरणका लागि निर्वाचन आयोगमा पठाइएको छ।
प्रवक्ता झाका अनुसार आयोगलाई बुझाइएको उक्त तथ्यांक अहिले रुजु गर्ने प्रक्रियामा रहेको छ। ‘हामीले प्रतिनिधिहरूको सम्पूर्ण विवरण निर्वाचन आयोगमा पठाइसकेका छौं, अहिले आयोगबाट ती तथ्यांक रुजु गर्ने काम भइरहेको छ,’ प्रवक्ता झाले भने।
आइतबारदेखि भरतपुरमा सुरु हुन लागेको रास्वपाको यस ऐतिहासिक महाधिवेशनमा कुल ४ हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने निश्चित भएको छ।
प्रकाशित: ६ असार २०८३ १६:३५ शनिबार




-600x400.jpg)
