राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासम उतेमसँग भेटवार्ता गरेका छन्। भेटमा मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी सुनिश्चित गर्ने विषयमा छलफल भएको छ।
मौरिससको अनौपचारिक भ्रमणका क्रममा भएको भेटमा नेपाली श्रमिकको हित संरक्षण, श्रमिक भर्नासम्बन्धी द्विपक्षीय समझदारीपत्र (एमओयू) को प्रभावकारी कार्यान्वयन तथा सुरक्षित, सम्मानजनक र न्यायोचित कार्यवातावरण सुनिश्चित गर्ने विषयमा विचार आदानप्रदान भएको उपनेता पराजुलीले बताएका छन्।
भेटमा श्रमसम्बन्धी विद्यमान व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै नेपाल र मौरिससबिचको श्रम सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।
नेपाल र मौरिससबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्ष पूरा भएको सन्दर्भमा दुई देशबिचको सम्बन्ध विस्तार र सुदृढीकरणका विषयले पनि भेटमा महत्त्व पाएको थियो। यस क्रममा कूटनीतिक उपस्थितिको आवश्यकता र सम्भावना तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको पराजुलीले जानकारी दिएका छन्।
भेटमा श्रम सहकार्यका अतिरिक्त पर्यटन, संस्कृति र जनस्तरको सम्बन्ध विस्तारका सम्भावनाबारे पनि छलफल भएको थियो। नेपालको हिमाली प्राकृतिक सौन्दर्य र मौरिससका समुद्री तटलाई पर्यटन सहकार्यका माध्यमबाट जोड्दै दुवै देशबिच पर्यटकीय आदानप्रदान प्रवर्द्धन गर्न सकिने विषयमा विचार आदानप्रदान गरिएको थियो।
त्यसैगरी, मौरिससका हिन्दु धर्मावलम्बीलाई नेपालको पशुपतिनाथ मन्दिर तथा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग जोड्दै धार्मिक, सांस्कृतिक र आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावनाबारे पनि चर्चा भएको थियो। यस्तो सहकार्यले दुवै देशका नागरिकबिच सांस्कृतिक समझदारी, आपसी सद्भाव र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।
भेटका क्रममा उपनेता पराजुलीले आत्मीय स्वागत र सार्थक संवादका लागि मन्त्री उतेमप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले नेपाली श्रमिकको हित संरक्षण तथा श्रम, पर्यटन र सांस्कृतिक सहकार्यका माध्यमबाट नेपाल–मौरिसस सम्बन्धलाई थप सुदृढ बनाउन सकिने विश्वाससमेत व्यक्त गरेका छन्।
प्रकाशित: ७ कार्तिक २०८३ १३:१८ शनिबार





