३ भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

राप्रपाले भन्यो : मुख्यमन्त्रीमा पार्टीको समर्थन भनी बुझाइएको पत्रलाई मान्यता नदिनू

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्दा आफ्नो पार्टीको समर्थन रहेको भन्ने कुरा गलत रहेको जनाएको छ।

बुधबार महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरुङद्वारा जारी विज्ञप्तिमा पार्टीको निर्देशनबिना बुझाइएको उक्त पत्रप्रति राप्रपाको सहमति नरहेको उल्लेख गर्दै त्यसलाई मान्यता नदिन प्रदेश प्रमुखसमक्ष अनुरोध गरिएको छ।

राप्रपाको गत साउन २० गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बागमतीको सत्ता समीकरणमा सहभागी नहुने जनाएको थियो। यस्तै, प्रदेश सरकारसम्बन्धी विशेष निर्णय आवश्यक परे पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर उपयुक्त निर्णय गर्ने अधिकार पार्टी अध्यक्षलाई प्रदान गरिएको बताइएको थियो।

पार्टीको आधिकारिक निर्णयविपरीत बुझाइएको पत्रलाई आधिकारिक नमान्न र त्यसका आधारमा कुनै प्रक्रिया अघि नबढाउन राप्रपाले प्रदेश प्रमुखलाई आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको संसदीय दलको नेतालाई निर्देशन समेत गरिएको पृष्ठभूमिमा पार्टीको कुनै निर्णय र निर्देशन बिना बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्रीमा राप्रपाका सदस्यहरूको समर्थन रहेको भनी बुझाइएको पत्रमा राप्रपाको सहमति नभएको हुँदा उक्त पत्रलाई मान्यता प्रदान नगर्न हुन अनुरोध छ।’

प्रकाशित: ३ भाद्र २०८३ १६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App