राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश संसदीय दलका नेता एवं सांसद उद्धव थापालाई साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रको निर्णय र निर्देशनविपरीत नयाँ सरकार गठबन्धनलाई समर्थन जनाएपछि राप्रपाले आफ्नै दलका नेतालाई कारबाही गरेको हो।
बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्दै प्रदेश सभा सदस्य पदबाट पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
पार्टीको निर्देशनविपरीत बागमतीमा नेकपा एमालेका सांसद किरण थापामगरलाई मुख्यमन्त्रीमा समर्थन जनाएको र बुधबार सोधिएको स्पष्टीकरणसमेत नबुझाएपछि उनीमाथि कारबाहीको डन्डा चलेको हो।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अनुशासन उल्लंघन गरेका कारण कारबाही गरिएको बताए। ‘उद्धव थापालाई पार्टीको साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट समेत पदमुक्त गर्न सिफारिस गर्ने निर्णय भएको छ,’ अध्यक्ष लिङ्देनले भने।
साथै, उनले पार्टीको निर्देशन नमानी अब सरकारमा सहभागी हुने अन्य सांसदहरूलाई पनि कारबाही गरिने चेतावनी दिएका छन्।
केन्द्रले समर्थन फिर्ता लिन आग्रह गर्दा पनि थापाले अटेर गरेपछि कारबाही गर्नुपरेको पार्टीले जनाएको छ। अध्यक्ष लिङ्देनका अनुसार साउन २० गते नै केन्द्रीय कार्यसम्पादन समितिले प्रदेश सरकारहरूमा सामेल नहुने निर्णय गरेको थियो।
साउन २१ गते बागमतीका १२ जना सांसदलाई केन्द्रीय कार्यालयमै बोलाएर यसबारे जानकारी गराइएको थियो। भदौ १ गते पनि बागमती प्रदेशमा सरकारको समर्थन र विरोध दुवैमा संलग्न नहुने भन्दै लिखित पत्र नै पठाइएको अध्यक्ष लिङ्देनले बताए। ‘तर अचानक हिजो एमालेलाई समर्थन गर्ने भन्ने पत्र गयो, यो सरासर अनुशासन उल्लंघन हो,’ उनले भने।
कारबाहीमा परेका थापा २०७९ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर-८ को (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।
प्रकाशित: ४ भाद्र २०८३ १६:३४ बिहीबार





