२१ आश्विन २०८३ बुधबार
image/svg+xml
समाज

हुम्लामा हिमपातले जनजीवन प्रभावित

जिल्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ।

नाम्खा, सिमकोटलगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली, ताँजाकोटलगायत जिल्लाको तल्लो क्षेत्रमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ। वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ।

लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रमा रहेका कच्ची सडक तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवतजावतमा समस्या भएको छ। कतिपय स्थानमा सडक अवरुद्ध हुन थालेपछि यातायातसमेत प्रभावित भएको सर्केगाड–१ जैरको खच्चाबाट दीपक कार्कीले बताए। उनका अनुसार खच्चामा सुक्खा पहिरो आइरहने भएकाले समस्या भइरहेका बेला यस किसिमको निरन्तरताको वर्षाले त सडक पूरै अवरुद्ध भएको बताए।

वर्षाले पाक्न लागेको तथा खेतबारीमा रहेको अन्नबाली, तरकारीलगायतका बालीमा पनि क्षति पुग्ने जोखिम बढेको छ। केही स्थानमा बाढीपहिरो तथा खोलानालामा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित भएका छन्।

वर्षा र हिमपातका कारण पशुचौपायालाई समेत समस्या भएको छ। चिसो बढेपछि खुला तथा गोठमा राखिएका पशुचौपायालाई आहार तथा संरक्षणमा समस्या भएको जनाइएको छ।

अचानक मौसममा आएको परिवर्तनसँगै जिल्लाका उच्च हिमाली क्षेत्रमा थप हिमपात र तल्लो क्षेत्रमा वर्षा जारी रहेकाले सम्भावित क्षतिप्रति सतर्क रहन स्थानीयलाई आग्रह गरिएको छ। जिल्लाका विभिन्न स्थानमा हिमपात तथा वर्षा भइरहेकाले सुरक्षित रहन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताए।

वर्षाका कारण भएको क्षतिको विस्तृत विवरण भने सङ्कलन भइरहेको र अहिले पनि निरन्तर वर्षा भइरहेको उनले बताए।

प्रकाशित: २१ आश्विन २०८३ ०९:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App