राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारका पछिल्ला गतिविधिमाथि गम्भीर प्रश्न उठाउँदै भ्रष्टाचार र नीतिगत निर्णयहरूमा सरकारको नियतप्रति शंका व्यक्त गरेको छ। पार्टीले विशेषगरी ईभी भन्सार प्रकरण, बजेट सूचना चुहावट र कर नीतिसम्बन्धी निर्णयहरूमा सरकार जवाफदेही बन्नुपर्ने माग अघि सारेको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले विभिन्न विषयमा पारदर्शिता गुमाउँदै गएको आरोप लगाए। उनले विद्युतीय सवारी साधन (ईभी) को भन्सार दर परिवर्तन र बजेट सार्वजनिक हुनुअघि सूचना बाहिरिएको घटनामा निष्पक्ष संसदीय छानबिन समिति गठन गर्न माग गरे।
शाहीले ईभीमा कर छलीका कारण राज्यले अर्बौं रुपैयाँ राजस्व गुमाएको दाबी गर्दै प्रधानमन्त्रीको भूमिकामाथि समेत प्रश्न उठाए। “यदि कुनै अनियमितता भएकै थिएन भने प्रधानमन्त्री कार्यालयले दुई सातासम्म भन्सारबाट आएका गाडीहरू किन नियन्त्रणमा राख्यो ? यसको जवाफ सत्ता पक्षले होइन, प्रधानमन्त्री स्वयंले दिनुपर्छ,” उनले संसद्मा भने।
उनले व्यक्तिगत रूपमा प्रमाण खोज्नेभन्दा संसदीय समिति बनाएर वास्तविकता बाहिर ल्याउन सरकारलाई खुला चुनौतीसमेत दिए।
भाषणका क्रममा शाहीले प्रधानमन्त्रीको हालै संसद्मा आएको सीमासम्बन्धी अभिव्यक्तिको पनि आलोचना गरे। प्रधानमन्त्रीले ‘नेपालले भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै उनले राष्ट्रको कार्यकारी प्रमुखबाट यस्तो धारणा आउनु गम्भीर र आपत्तिजनक भएको टिप्पणी गरे।
सरकारको आर्थिक नीति र सामाजिक कार्यक्रमप्रति पनि राप्रपाले असन्तुष्टि जनाएको छ। शाहीले सरकारले स्वास्थ्य बिमा कटौती गरेको, बिजुलीमा भ्याट लगाएको तथा उपचाररत बिरामीमाथि थप आर्थिक भार थोपरेको भन्दै सरकार जनताप्रति असंवेदनशील बनेको आरोप लगाए।
उनले सरकार गरिब किसानलाई राहत दिन तयार नभएको तर ठूलो कर छलीमा संलग्न व्यक्तिहरूसँग निकटता देखाइरहेको दाबी गरे।
पूर्व अर्थमन्त्रीहरूको उदाहरण दिँदै शाहीले केवल शैक्षिक योग्यताले सुशासन सुनिश्चित नहुने बताएका छन्। उनले डा. रामशरण महत, डा. प्रकाशशरण महत र डा. युवराज खतिवडाजस्ता अर्थशास्त्रमा दक्ष व्यक्तिहरू नेतृत्वमा रहँदा पनि देशमा ठूला भ्रष्टाचारका घटना भएको उल्लेख गर्दै समस्या ज्ञानको नभई नैतिकताको भएको बताए।
साथै उनले अहिले सत्तामा रहेका केही नेताहरू विगतमा परिवर्तनका लागि आन्दोलनमा सक्रिय भए पनि सत्तामा पुगेपछि पुरानै शासकको शैली दोहोरिएको आरोप लगाए। “हिजो सडकमा आक्रमण हुन्थ्यो, आज डिजिटल माध्यमबाट चरित्र हत्या गरिन्छ। हिजो र आजको सरकारमा अनुहार र चुनाव चिन्ह फरक भए पनि प्रवृत्ति उस्तै छ,” उनले टिप्पणी गरे।
शाहीले अन्त्यमा राप्रपा भ्रष्टाचारविरुद्धको अभियानमा एक्लै परे पनि पछि नहट्ने र सत्यको पक्षमा निरन्तर उभिरहने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित: ५ असार २०८३ १३:०२ शुक्रबार





