२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

झापा- ३ मा कामै गरेको छैन भन्ने प्रमाणित भए उम्मेदवारी त्याग्ने राप्रपा अध्यक्ष लिङदेनको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा गरेको विकास र जनताले गरेको अनुभूति स्मरण गराएका छन् ।  

शनिबार राजगढमा आयोजित आफ्नो अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो दुई कार्यकालमा भएका विकास र प्रगतिलाई स्मरण गराउँदै मतदातालाई भने, ‘भोट दिन मन नलागे  नदिनुस्, तर यस क्षेत्रमा केही काम नै भएको छैन चाहि नभन्नुस् ।’  

आफू सो क्षेत्रमा निर्वाचित हुनुअघि शिक्षा, स्वास्थ्य, पूर्वाधारको क्षेत्रको लथालिङ अवस्थालाई स्मरण गराउँदै अध्यक्ष लिङ्देनले आफू निर्वाचित भएपछि स्थानीय तहसँग समन्वय गरेर सडक, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा काम गरेको दाबी गरे ।  

‘आजभन्दा आठ वर्षअगाडि यो क्षेत्रबाट सांसदको हिसाबले तपाईंहरूले मलाई चुनाव जिताउनुभयो । आठ वर्षदेखि यो क्षेत्रको प्रतिनिधि छु । आठ वर्ष अगाडि यो ठाउँको अवस्था के थियो ? एउटा कतै हामीले कालोपत्रे सडक देखेका थियौँ ? हाम्रो बाटोको अवस्था के थियो ? नदीको अवस्था के थियो ?’ उनले भने, ‘आज नदी तटबन्धका कामहरू भएका छन्। सडक कालोपत्रे भएका छन् । शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि काम भएका छन्।’

आफ्नो सिफारिसमा स्थानीय तहले पनि काम गरेको बताउँदै उनले आफ्नै सिफारिसमा भारतको सिमानासम्म सडक बनेको दाबी गरे ।  

‘भारतको सिमानासम्म यो बाटो कसले बनायो ? म आज चुनौतीका साथ भन्छु कि कसैले यो बाटो मेरो सिफारिसमा बनेको हो । यसलाई कसले होइन भनेर प्रमाणित गर्छ भने म मैदान छाडेर उसलाई सघाउँछु,’ अध्यक्ष लिङ्देनले भने ।  

आसन्न चुनावमा कुनै पनि राजनीतिक दलसँग राप्रपाले चुनावी तालमेल नगरेको स्पष्ट पार्दै अध्यक्ष लिङदेनले राप्रपामात्रै देश र जनताको पक्षमा रहेको दाबी गरे । देश र जनता जोगाउने हो भने यो व्यवस्था र अवस्थामा परिवर्तन हुनुपर्ने अन्यथा देश अझै ठुलो भुमरीमा फस्ने उनको जिकिर थियो । आफू र राप्रपालाई सबै पार्टी र विचारप्रति आस्थावानहरुको भोट चल्ने बनाउने बताउँदै लिङ्देनले राप्रपालाई भोट हालेको कारण कहिल्यै पछुताउनु नपर्ने उल्लेख गरे ।  

अध्यक्ष लिङ्देनले सिंहदरबार जलाउने र सिंहदरबार जोगाउन नसक्नेको बीचमा राष्ट्रिय प्रजातन्त्र पार्टी बेग्लै पहिचान बोकेर अगाडि बढेको उल्लेख गरे । राप्रपालाई बहुमत नदिए देश नै नरहने जिकिर गर्दै उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बहुमत दिन अपिल पनि गर । अहिले देशमा दुइखाले अतिवाद हावी भइरहेको छ, यस्तो अवस्थामा देशलाई स्थिर र समन्वयकारी शक्तिको खाँचो छ, त्यो शक्ति राप्रपा नै भएको प्रष्ट पार्दै अध्यक्ष लिङ्देनले आगामी संसदमा बलियो राप्रपा चाहिने हुँदा सोचविचार गरेर मतदान गर्न मतदातालाई आग्रह गरे । 

प्रकाशित: १६ फाल्गुन २०८२ १८:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App