प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आक्रामक टिप्पणी गर्दै आफ्नो पार्टीले भ्रष्टाचार नगर्ने र सहकारी ठगीको मुद्दा लागेपछि हस्ताक्षर अभियान चलाएर नहिँड्ने बताएका छन्।
जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछाले प्रति लक्षित गर्दै भने, ‘केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन। हामी सहकारी ठगेर मुद्दा झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो हुँदै होइन।’
उनले एमालेलाई कमजोर बनाउन भित्र र बाहिरबाट षड्यन्त्र भइरहेको दाबी गर्दै उनले त्यस्ता प्रयास सफल नहुने बताए। ‘एमालेविरुद्ध जाल बुन्नेहरू सफल हुँदैनन्। माकुरोको जालोमा कहिल्यै भैँसी पर्दैन,’ उनले भने, ‘हाम्रा विरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन।’
आफ्नो सम्बोधनमा अध्यक्ष ओलीले एमालेभित्र पनि केही स्वार्थी समूहले ‘केपी ओलीविनाको एमाले’ बनाउन चाहेको भन्दै असन्तुष्टि व्यक्त गरे। पार्टीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बढ्दो सक्रियतातर्फ संकेत गर्दै उनले पार्टीलाई कमजोर बनाउने कुनै पनि षड्यन्त्र सफल हुन नदिने चेतावनी दिए।
उनले आफ्नो नेतृत्वमा देशले विकासमा फड्को मारेको दाबी गर्दै फलामखानी उत्खननदेखि सुरुङमार्ग निर्माणसम्मका कामहरू सुरु भएको बताए। उनले कार्यकर्ताहरूलाई कुनै पनि हल्लाको पछि नलागी एकताबद्ध भएर पार्टीको पक्षमा उभिन निर्देशन दिए।
प्रकाशित: २९ असार २०८२ १७:२१ आइतबार





