भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले नेताहरूलाई स्वागत गर्न र खादा लगाउन हतार नगर्न आग्रह गरेकी छन्।
सुदूरपश्चिम भ्रमणमा रहेकी उनले नागरिकहरूको समस्या समाधान नभएसम्म सम्मान लिन नचाहने स्पष्ट पारेकी हुन्। शनिबार एक कार्यक्रममा बोल्दै मन्त्री रावलले भनिन्, ‘किन उभिएको, हामीले तपाईंलाई सम्मान गरेको हो, बस्नुपर्छ भन्दै हुनुहुन्थ्यो। कहिलेकाहीँ कमीकमजोरी हामी पनि गर्छौं। के तपाईंहरूकोमा जति पनि मन्त्री, जति पनि नेताहरू आउनुहुन्छ, अबिर खादा लगाइदिन हतार नगर्नुहोस्। उहाँहरूलाई सम्मान दिन हतार नगर्नुहोस्, समस्या समाधान गरेर आएपछि म तपाईंहरूको अबिर खादा लगाउँछु।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टी लगायत कुनै पनि दलका नेताले पहिला जनताका वर्षौं पुराना समस्याको समाधान गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘त्यसपछि बल्ल त्यो नेताले, त्यो मन्त्रीले तपाईंहरूको खादा, तपाईंहरूको अबिर, तपाईंहरूले दिएको फूल बल्ल डिजर्भ गर्छ, बल्ल त्यसको लायक हुन्छ।’
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्याप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै मन्त्री रावलले कसैले पनि त्रासको वातावरणमा बस्नु नपर्ने बताइन्। उनले भनिन्, ‘तपाईंहरू एउटा कुरामा ढुक्क हुनुहोस्, कानुनसम्मत तरिकाले लालपुर्जा पाउनुपर्ने भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासी सबैले लालपुर्जा पाउनुहुन्छ। तपाईंहरूलाई कसैले पनि उठाउन सक्दैन।’
सरकार गठन भएको पाँच महिना भएको र आफूले मन्त्रालय सम्हालेको पहिलो दिनदेखि नै देशैभरिको सुकुम्बासी समस्या समाधान गर्न लागिपरेको उनको भनाइ थियो। उनले भनिन्, ‘यो सरकारको पालामा हामीले ५०० दिनभित्र देशैभरिको सुकुम्बासी समस्या समाधान गर्नेछौं। त्यसैले नडराउनुहोस्, नआत्तिनुहोस्।’
सो अवसरमा उनले सहकारी पीडितका समस्याहरू पनि सरकारको प्राथमिकतामा रहेको बताउँदै नीतिगत सुधार गरी छिट्टै सबै समस्याको उचित निकास निकालिने स्पष्ट पारिन्।
प्रकाशित: ६ भाद्र २०८३ २२:०६ शनिबार





