१० चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

जिम्मेवारी बोधले राजीनामा दिए : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूले दिएको राजीनामा कुनै हतार, हतास वा दबाबका कारण नभई पूर्ण रूपमा जिम्मेवारीबोधका आधारमा दिएको बताएका छन्।  

मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै उनले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको बताए। ‘यो निर्णय हतार वा हतासमा आएको होइन, न कुनै दबाबका कारण हो, जवाफदेहीताको भावना अनुसार मैले यो कदम चालेको हुँ,’ उनले भने।

सभापति थापाले निर्वाचनपछि नै राजीनामा दिने योजना बनाएको सुनाए। उनले पार्टी विधानअनुसार उपसभापति विश्वप्रकाश शर्मा लाई राजीनामा पेश गरेको बताउँदै उपसभापतिले केन्द्रीय समितिमा प्रस्तुत गर्ने व्यवस्था रहेको उनले बताए।  

साथै विशेष महाधिवेशनको सन्दर्भमा उनले कुनै द्विविधा नरहेको भन्दै विशेष महाधिवेशन गरेर गल्ती भयो कि भन्ने कुरामा एकछिन पनि अलमलिएर यो निर्णयमा नपुगेको बताए। यसैबीच थापाले पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई नयाँ मोडमा पुर्‍याएको भन्दै आगामी पाँच वर्ष पार्टीका लागि निर्णायक हुने बताए।  

त्यस्तै, बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई जनताको अपेक्षा अनुसार काम गर्न आग्रह गर्दै उनले युवाहरूको सपना साकार पार्ने जिम्मेवारी अब नयाँ सरकारको काँधमा आएको भन्दै बधाइ दिए।

प्रकाशित: १० चैत्र २०८२ १४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App