दार्चुलाको सदरमुकाम खलगां बजारदेखि ८७ किमि उत्तरमा अति विकट र अति संवदेशनशील क्षेत्र छाङरु र टिकंरमा बसोबास गर्दै आएका करिब ५ सय सौका समुदायका परिवार यस पटक यही फागुन २१ गते हुने निर्वाचनमा सदरमुकाम खलगां बसेर मतदान गर्दैछन्।
दार्चुलाको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले छाङरु र टिकंरबासीका लागि सदरमुकामै दुई अलगअलग मतदान केन्द्र राखी खलगांबाटै मतदान गर्ने व्यवस्था मिलाइएको बताए। उनका अनुसार यतिबेला छाङरु र टिंकरमा घर हेरेर (रुङेर) बसेका एकदुई जनाबाहेक कोही पनि मान्छे छैन। बस्ती शून्य छ। छाङरुमा भने सीमा सुरक्षाको जिम्मेवारी लिएको सशस्त्र प्रहरीको क्याम्प मात्र छ।
टिंकरमा रहेको नेपाल प्रहरीको युनिट पनि छाङरुमा सरीसकेको छ। टिंकरमा बस्नै नसक्ने गरी चिसो बढेको छ। सबैतिर हिउँले ढाकेको छ। त्यसैले यतिबेला छाङरु र टिकंबासी कुन्छा सर्दै सदरमुकाम आएका छन्। दार्चलामा अस्थायी बसाइसराइलाई कुन्छा सर्ने भन्ने गरिन्छ। उनीहरू ६/६ महिनामा कुन्छा सर्ने गर्छन्। उनीहरूले आफूसँग चौरी गाई र भेडा समेत खलगांमा ल्याएका छन्। खलगांमा यतिबेला सौकाम समुदायका अलगअलग बस्ती छन्। सदुरमुकाम वरिपरि चौरी गाई र भेडा चलाइरहेको देख्न सकिन्छ। वैशाख लागेपछि मात्र सौका समुदाय छाङरु र टिंकर सर्ने गर्छन्।
खलगांदेखि छाङरु र टिकंरसम्म पुग्न कम्तीमा ३ दिन लाग्छ। सडक विभागअन्तर्गत महाकाली कोरिडोरका इञ्जिनियर दिनेश राइखोलाका अनुसार अब खलगांदेखि करिब ४३ किमि उत्तरी सीमा पुग्ने बाटोसम्म सडक खोलिएको छ। त्यहाँसम्म साना र फोरह्विल गाडी जाने गर्छन् तर त्यसपछि भने हिंड्नुपर्छ। महाकाली कोरीडोर उत्तरमा ताक्लकोट बजारसम्म पुग्ने गरी रेखांकन गरिएको छ। ताक्लाकोट भनेको चीनियाँ बजार हो। यो नेपाली सीमासँग जोडिएको छ।
९० हजार मतदाता रहेको दार्चुलामा १ सय १२ वटा मतदान केन्द्र र १ सय ४३ मतदानस्थल राखिएका छन्। २२ मतदानस्थललाई भने अति संवेनशीलस्थलको रूपमा राखिएको छ। भारत र चीन दुवैतर्फ सीमाना भएको दार्चुलामा प्रतिनिधि सभा तर्फ भने १ वटा मात्र सिट छ।

कुटी नाभी र गुञ्जीबासैको नाम नै छैन
नेपालको राजनीतिक नक्सामा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुराभित्र पर्ने नाभी कुटी र गुञ्जीबासीको नाम मतदाता नामाबालीमा छैन। ‘उहाँहरूको नाम छैन। यो राजनीतिक विषय हो। यस विषयमा थप बोल्न चाहन्न’ प्रजिअ पौडेलले भने तर प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार भएका गणेश ठकुन्नाले भने नाभी, कुटी र गुञ्जीबासीसँग प्रशासनिक पहुँच नै नभएकाले उनीहरूको नाम नभएको बताए। ‘उनीहरू भारत सरकारको प्रशासनिक पहुँचमा छन्। नेपालको पहुँचमा छैनन्। त्यसैले नाम छैन’ उनले भने। नेपालको नक्सामा भने नाभी कुटी र गुञ्जीलाई व्यास गाउँपालिका वडा नम्बर १ मा राखिएको छ। व्यास गाउँपालिका दार्चुलाको सदरमुकामदेखि सबैभन्दा उत्तरी र विकटमा पर्छ।
प्रतिस्पर्धा कांग्रेस र एमालेबीचमै
फागुन २१ गते हुने निर्वाचनका लागि दार्चुलामा ११ उम्मेदवार छन् तर प्रतिष्पर्धा नेपाली कांग्रेस र एमालेवीचमै हुने छ। कांग्रेसबाट धर्मानन्द जोशी र एमालेबाट गणेश ठकुन्ना उम्मेदवार भएका छन्। दुवैले आफू जित्नेमा ढुक्क छन्। ‘हामी धेरै अगाडि छाैं। हामीले जित्छौ’ ठकुन्नाले भने। यस्तै दावी नेपाली कांग्रेस दार्चुलाको नेताहरूको रहेको छ।
यसैगरी दार्चुलामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजेश सामान्त र नेपाली कम्युनिस्ट पार्टीबाट लक्ष्मणदत्त जोशी उम्मेदवार भएका छन्। यसैगरी नेमकिपाबाट रमेश रावल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेश चन्दले उम्मेदवारी दिएका छन्।
नागुबासीका नो भोटको अडान कायमै
नागु गाउँपालिका १ नम्बर वडाबासीको नो भोटको अडान सोमबारसम्म कायमै छ। प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार उनीहरूको माग सम्बोधन गराउन प्रयास भइरहेको छ तर समस्या सामधान भएको छैन। ‘मेरो पहुँचका सबै माग सम्बोधन गर्ने प्रयास गरिरहेको छु। दार्चुलाका ११ उम्मेदवारलाई नागुबासीसँग जुमबाट छलफल पनि गराएँ। अझै समस्या सामधान गर्ने प्रयास भइरहेको छ’ पौडेलले भने।
उनका अनुसार नागुबासीले सडक, खानेपानी, खाद्यान्न लगायतको माग राखी नो भोटको अडान राखिरहेका छन। तीमध्ये खाद्यान्नको माग सम्बोधन गरिएको पौडेलले बताए।
प्रकाशित: ११ फाल्गुन २०८२ ०७:४६ सोमबार





