१ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र रूपमा भइरहेको छ : गणेश पराजुली

तस्बिर: गणेश पराजुलीको फेसबुक वालबाट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य एवं संसदीय दलका उपनेता गणेश पराजुलीले भदौ १० गते आएको बाढीबाट क्षतिग्रस्त नुवाकोट र धादिङ जोड्ने झोलुङ्गे पुलहरूको मर्मत तीव्र रूपमा भइरहेको बताएका छन्।

पराजुलीले जलवायु परिवर्तनसँगै हिमाली क्षेत्रमा बढ्दो तापक्रम र विपद्को जोखिमबीच रसुवाको उत्तरी सीमाबाट प्रवेश गरेको बाढीले केउरेनी–गहते तथा फोस्रेटार जोड्ने पुलहरूमा क्षति पुर्‍याएको जिकिर गर्दै यस्तो बताएका हुन्। उनले नुवाकोट भित्रका गाउँ–बस्ती जोड्ने पिमलटार–जागाराम झोलुङ्गे पुलसमेत क्षतिग्रस्त भएको बताए।

सामाजिक सञ्जालमार्फत पराजुलीले पुलहरू टुट्दा नदीपारिका जनताको दैनिक जीवन कति कठिन हुन्छ भन्ने कुरा पछिल्लो विपद्ले देखाएको उल्लेख गरेका छन्। उनले क्षतिग्रस्त पुलहरूको पुनःस्थापनाले नदीका दुई किनारसँगै गाउँ तथा बस्तीको दैनिकीलाई पुनः जोड्ने बताएका छन्।

'पुल टुट्दा नदीपारिका जनताको दैनिक कति कठिन हुन्छ भन्ने यस विपद्ले देखाएको छ। यी पुलहरूको पुनःस्थापनाले नदीका दुई किनारसँगै गाउँर बस्तीको दैनिकीलाई फेरि जोड्नेछ,' उनले भनेका छन्।

कठिन परिस्थितिमा आवागमन तथा यातायात सम्पर्क पुनःस्थापित गर्न खटिएको सरकार, सम्बन्धित निकाय, प्राविधिक तथा श्रमिकप्रति पराजुलीले धन्यवाद तथा सम्मान व्यक्त गरेका छन्। ड्रोनबाट कैद गरिएको पुल मर्मतको दृश्यले आफूमा आशा जगाएको समेत उनले उल्लेख गरे।

प्रकाशित: १ आश्विन २०८३ ०९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App