१४ आश्विन २०८३ बुधबार
image/svg+xml
राजनीति

विदेशबाट रेमिट्यान्स आउँछ तर म*रेपछि नागरिकको ला*श आउँदैन : सांसद सुवेदी

प्रतिनिधिसभा सदस्य कमल सुवेदीले वैदेशिक रोजगारीमा जाँदा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउन सरकारले सहयोग गर्न नसकेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सुवेदीले विदेशमा विभिन्न कारणले मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन नसक्दा धेरै परिवार पीडामा रहेको बताए। 

सुवेदीले परराष्ट्र मन्त्रालयको तत्काल ध्यानाकर्षण गराउँदै एकेन्द्र ओली, वीरेन्द्र चौधरी र कमला विकको पार्थिव शरीर यथाशीघ्र नेपाल ल्याउन आवश्यक प्रक्रिया र खर्चको व्यवस्था गर्न सरकारसँग विशेष आग्रह गरे। 

बबै गाउँपालिका ४ का एकेन्द्र ओली अध्ययनका क्रममा दक्षिण कोरियामा रहेका बेला २२ सेप्टेम्बर २०२६ मा निधन भएको उनले बताए। त्यस्तै शान्तिनगर गाउँपालिका ५ का वीरेन्द्र चौधरीको सेप्टेम्बर ८ मा मलेसियामा र शान्तिनगर गाउँपालिका ३ पाते टाकुराकी कमला विकको असोज ११ गते भारतको चण्डीगढमा निधन भएको सुवेदीले जानकारी दिए। 

विदेशमा रोजगारीका क्रममा रहेका नागरिकले भोग्नुपरेका कानुनी समस्याप्रति समेत सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ। लमही नगरपालिका ९ का दीपक चौधरी विगत आठ वर्षदेखि साउदी अरबको रियादमा रोजगारी गर्दै आएको र कामकै सिलसिलामा झुटो अभियोगमा जेल परेको परिवारको गुनासो रहेको उनले बताए। 

‘भाषा नजान्दा, स्थानीय कानुन नबुझ्दा र प्राप्त कानुनी सहायता नपाउँदा विदेशका जेलमा कति नेपाली युवा वर्षौं बिताइरहेका छन्। राज्यसँग यसको यथार्थ अभिलेख र प्रभावकारी संयन्त्र हुनुपर्छ,’ सुवेदीले भने। 

उनले विदेशमा रहेका नेपाली नागरिकलाई संकट पर्दा नेपाल सरकार उनीहरूको साथमा रहेको अनुभूति हुने गरी राज्यले काम गर्नुपर्ने बताए। 

‘नेपाली नागरिक रोजगारीका लागि संसारको जुनसुकै कुनामा पुगे पनि दुःख पर्दा उसको पछाडि केवल नेपाल सरकार छ भन्ने अनुभूति हुनुपर्छ,’ उनले भने। 

विदेशमा रहेका नेपालीले मुलुकमा रेमिट्यान्स पठाएर अर्थतन्त्रमा योगदान गरिरहेको उल्लेख गर्दै सुवेदीले संकटमा परेका बेला उनीहरूको उद्धार र सहयोग गर्ने जिम्मेवारी पनि राज्यकै भएको बताए। 

‘विदेशमा हुँदा नागरिकले रेमिट्यान्स पठाउँछ, तर संकटमा पर्दा उसको आँसु पुछ्ने जिम्मेवारी पनि राज्यकै हो,’ उनले भने।  

प्रकाशित: १४ आश्विन २०८३ १४:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App