नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद अभिषेक प्रताप शाहले भारत-नेपाल सीमा क्षेत्रमा बढ्दै गएका जबरजस्ती धर्म परिवर्तनका घटनालाई रोक्न नेपाल-भारत सम्मिलित संयुक्त छानबिन समिति बनाउनुपर्ने माग गरेका छन्।
कपिलवस्तुको तौलिहवामा पत्रकार सम्मेलन गर्दै उनले भारत र नेपालको सीमावर्ती क्षेत्रमा प्रलोभनमा पारेर धर्म परिवर्तन गराइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले धर्म परिवर्तन गराउने समूहलाई कडा कारबाहीको माग गरेका हुन्।
उनले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा भारतीय सीमावर्ती जिल्ला बलरामपुरमा हिन्दु धर्मका महिलालाई विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराइएको विषयमा भारतीय सञ्चारमाध्यममा दिएको आफ्नो अभिव्यक्तिलाई व्यक्तिगत विचारको रूपमा बुझ्न आग्रह गरे।
कुनै खास व्यक्तिलाई भन्दा पनि समग्र घटनालाई जोडेर आफूले सो बयान दिएको उनले दाबी छ। भारतमा भएको घटनाले भारतमा मात्र नभई नेपालमा पनि प्रभाव पारेको उनले बताए। नेपालको संविधानको दफा २६ को धार्मिक स्वतन्त्रता सम्बन्धी उपदफा ३ ले कसैको धर्ममा खलल पार्ने कार्य गर्न नहुने व्यवस्था छ।
तर विभिन्न लोभ र प्रलोभनमा पारेर साधारण जनताको धर्म परिवर्तन गराउने कार्य संविधानको पनि उल्लङ्घन भएको उनको भनाइ छ। उनले यस्ता कार्य नियन्त्रण गर्न नेपाल सरकारको ध्यानाकर्षण गराए।
नेपाल-भारत सीमा क्षेत्रमा मात्र नभई पहाडी जिल्लामा पनि धर्म परिवर्तनका घटना भइरहेकाले राष्ट्रिय सुरक्षालाई ध्यानमा राखी नेपाल सरकारले आवश्यक कारबाही गर्नुपर्ने माग गरे। जबरजस्ती धर्म परिवर्तन गर्नेहरूविरुद्ध र पीडितलाई न्याय दिलाउन आवश्यक सबै प्रक्रियामा आफ्नो साथ रहने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: १६ श्रावण २०८२ १६:५८ शुक्रबार





