उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ।
हालै मन्त्री यादवले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन, उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास पाउने वातावरण बनाउन तथा वितरण प्रणालीलाई थप प्रभावकारी र पारदर्शी बनाउन नेपाल आयल निगमलाई निर्देशन दिएकी थिइन्। सोही निर्देशनअनुसार निगमले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै ग्यास वितरण व्यवस्थालाई थप व्यवस्थित बनाइएको जनाएको छ।
निगमका अनुसार दैनिक मागअनुसार एलपी ग्यासको आपूर्ति भइरहे पनि केही सञ्चार माध्यममा ग्यास अभाव भएको समाचार आएपछि त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बजारमा कुनै पनि प्रकारको अभाव हुन नदिन सबै ग्यास उद्योगलाई पर्याप्त आपूर्ति सुनिश्चित गर्न तथा विक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न आग्रह गरिएको छ।
त्यसैगरी, काठमाडौं उपत्यकामा बढी माग हुने ग्यास ब्रान्डको आपूर्तिलाई सहज बनाउन साउन १६ गतेदेखि टेकुस्थित नेपाल आयल निगमको कार्यालयबाट पनि नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सगुन ग्यास तथा श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ देखि बेलुका ५ बजेसम्म बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ।
प्रकाशित: १६ श्रावण २०८३ ११:२७ शनिबार





