२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

सीडीओ कार्यालय अगाडि रास्वपा सांसदको धर्नाबारे महेशले भने : नौटंकी बन्द गर सरकार

'सदनमा माफी माग्ने रवि लामिछानेहरूको स्टण्डबाजी आज लाजको पसारो बने'

नेकपा एमालेका सचिव महेश बस्नेतले सिन्धुलीको खुर्कोट प्रहरी हिरासतमा २२ वर्षीय कृष्ण विकको शंकास्पद मृत्यु राज्यको जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्न भएको बताएका छन्।

एकातिर दलित समुदायसँग क्षमायाचना अर्कोतिर अन्तरजातीय विवाहको उजुरीकै आडमा हिरासतभित्रै दलित युवकको मृत्युले दोहोरो चरित्र देखाएको भन्दै उनले सरकारसँग न्यायको माग गरेका छन्।

'सिन्धुलीको खुर्कोट प्रहरी हिरासतमा २२ वर्षीय कृष्ण विकको शंकास्पद मृत्यु राज्यको जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्न हो,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'एकातिर दलित समुदायसँग क्षमायाचना, अर्कोतिर अन्तरजातीय विवाहको उजुरीकै आडमा हिरासतभित्रै दलित युवकको मृत्यु! दोहोरो चरित्र होइन। न्याय देऊ सरकार।'

सदनमा माफी माग्ने रवि लामिछानेहरूको स्टण्डबाजी आज लाजको पसारो बनेका छन् भन्दै उनले हिजो सन्तोष परियारजस्ता बौद्धिक व्यक्तिलाई रुवाउँदै पार्टी छोड्न बाध्य पारेको तर आज यस्ता घटनामा जिम्मेवारीबाट पन्छिन खोजिएको भनाइ राखे।

मन्त्रिपरिषद् गठन हुँदा समेत एक जना दलित मन्त्रीसमेत नबनाइनु यो पनि एउटा कटु यथार्थ भएको भनाइ उनले राखे। 'सदनमा माफी माग्ने रबि लामिछानेहरूको स्टण्डबाजी आज लाजको पसारो बनेका छन्। हिजो सन्तोष परियारजस्ता बौद्धिक व्यक्तिलाई रुवाउँदै पार्टी छोड्न बाध्य पारियो, तर आज यस्ता घटनामा जिम्मेवारीबाट पन्छिन खोजिँदैछ,' रास्वपाका सांसदहरू सिन्धुलीको सीडीओ कार्यालय अगाडि धर्ना बसेको तस्बिर सेयर गर्दै उनले भने, 'यत्रो मन्त्रिपरिषद् गठन हुँदा समेत एक जना दलित मन्त्रीसमेत नबनाइनु यो पनि एउटा कटु यथार्थ हो। धामी पनि आफैँ, झाँक्री पनि आफैँ बन्ने होइन, गोहीको आँसु होइन। पीडितलाई वास्तविक न्याय चाहिन्छ। नौटंकी बन्द गर सरकार।'

प्रकाशित: ११ वैशाख २०८३ १०:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App