फागुन २१ गतेलाई तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा पाँच मतदान स्थल थप गर्न सिफारिस गरिएको छ ।
मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन जिल्ला स्तरीय समितिको बैठकले ५ मतदानस्थल थप तथा दुई मतदान स्थललाई साविक भन्दा केही वरपर सार्नेगरी निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त निर्वाचन अधिकारी वान्दवराज (विपीन) दुलालले जानकारी दिए ।
उनका अनुसार मैवाखोला गाउँपालिका- ६ फाकुम्बाको असाङलुङ आधारभूत विद्यालय साम्तुङमा १ सय ३१ मतदाता रहने गरी एक, फक्ताङलुङ गाउँपालिका-६ स्थित महेन्द्र आधारभूत विद्यालय भाङवारीमा ५३० मतदाता रहने गरी एक र सोहि वडाको लुङथुङ आधारभूत विद्यालय स्कुलडाँडामा ३ सय ६२ मतदाता हुनेगरी एक मतदान स्थल थप गर्न सिफारिस गरिएको छ ।
फक्ताङलुङ गाउँपालिका- २ स्थित आर्दश मावि खेजेनिममा ५ सय १३ मतदाता हुनेगरी एक तथा मिक्वाखोला गाउँपालिका-४ स्थित जनरात्री आधारभूत विद्यालय दलैंचामा १ सय ३० मतदाता हुनेगरी एक मतदान स्थल थप गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी संयोजक रहने समितिको बैठकले मतदान स्थल थपसहित दुई मतदान स्थल साविकभन्दा केही वरपर सार्नेगरी निर्णयार्थ आयोगमा सिफारिस गरेको छ । सिफारिस गरिएका मतदानस्थलहरुमा फुङलिङ नगरपालिका-२ स्थित याङलीजुङ आधारभूत विद्यालयमा रहेको मतदान स्थललाई २ नं वडा कार्यालयमा र फुङलिङ नगरपालिका वडा नं ५ स्थित सामुदायिक भवनमा रहेको मतदान स्थललाई ताप्लेजुङ उद्योग बाणिज्य संघको भवनमा सार्नेगरी आयोगमा सिफारिस गरिएको दुलालले बताए । सामुदायिक भवन अहिले पुर्ननिर्माणको क्रममा भत्काईएपछि बाणिज्य संघको भवनतर्फ केन्द्रित गरिएको हो । अहिले ताप्लेजुङमा ७५ मतदानस्थल र १ सय २३ मतदान केन्द्र कायम रहेका छन् । ताप्लेजुङबाट सिफारिस भएका ५ मतदानस्थल कायम गर्न आयोगले निर्णय गरेमा ताप्लेजुङमा मतदानस्थलको संख्या ८० र मतदान केन्द्र १ सय २८ पुग्ने छ ।
थपिए साढे १४ सय मतदाता
गत असोज १० गते देखि मंसिर १ गतेसम्ममा ताप्लेजुङमा १ हजार ४ सय ५० मतदाता थपिएका छन् । निमित्त जिल्ला निर्वाचन अधिकारी दुलालका अनुसार ७ सय ९८ पुरुष र ६ सय ५२ महिला मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । अधिकाँस मतदानका लागि योग्य उमेर समूहका रहेको समेत निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावली सरुवाका लागि ३ सय ४३ जनाले आबेदन दिएका छन् । आबेदन दिनेमध्ये सबैभन्दा ठूलो संख्या अन्तर जिल्ला सरुवा माग्नेको रहेपनि जिल्ला भित्र सरुवा माग्ने र जिल्ला बाहिर सरुवा माग्नेको संख्या एकिन गर्न बाँकी रहेको समेत दुलालले जानकारी दिए ।
प्रकाशित: १ मंसिर २०८२ १५:३९ सोमबार





