मोरङको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्र सुवेदी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी भएपछि नेकपा (एमाले) ले उनीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ। एमालेबाट निर्वाचित सुवेदीलाई पदमुक्त गर्न एमाले मोरङले सिफारिस गर्ने निर्णय गरेको हो।
एमाले मोरङका सचिव सोमराज थापाका अनुसार असार ९ गते विराटनगरमा बसेको जिल्ला पदाधिकारी बैठकले सुवेदीलाई पदमुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। सुवेदीले सामाजिक सञ्जालमार्फत रास्वपाका सांसद गणेश कार्कीलाई केन्द्रीय सदस्य पदमा विजयी गराउन आग्रह गर्दै सार्वजनिक रूपमा समर्थनसमेत जनाएका थिए।
सुवेदी यसअघि एमाले मोरङको जिल्ला कमिटी सदस्यसमेत रहेका थिए। दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित उनी पहिलो कार्यकालमा बेलबारी नगरपालिकाका प्रवक्ताको जिम्मेवारीमा पनि थिए। तर ‘जेनजी आन्दोलन’ पछि उनी एमाले गतिविधिमा निष्क्रिय बनेका थिए भने जिल्ला कमिटी सदस्य पदबाट राजीनामा समेत दिएका थिए।
यसअघि पनि मोरङमा एमालेबाट निर्वाचित दुई जना वडाध्यक्षले दल परिवर्तन गरेपछि पद गुमाइसकेका छन्। निर्वाचन आयोगले लेटाङ नगरपालिका–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ र रंगेली नगरपालिका–१ का वडाध्यक्ष महेशकुमार खनाललाई पदमुक्त गरिसकेको छ। श्रेष्ठ श्रम संस्कृति पार्टीमा आबद्ध भएका थिए भने खनाल रास्वपामा प्रवेश गरेका थिए।
सुवेदीमाथिको कारबाही प्रक्रिया अघि बढेसँगै मोरङमा दल परिवर्तनका कारण जनप्रतिनिधि पद गुमाउने क्रम थप चर्चामा आएको छ।
प्रकाशित: ११ असार २०८३ १६:०९ बिहीबार





