१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml
राजनीति

रवि लामिछाने कारागारमा रहँदाको प्रसंग स्मरण गर्दै सांसद न्यौपानेले भने : अब फेरि कृष्ण भगवान् जन्मिँदैनन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले पार्टी सभापति रवि लामिछाने कारागारमा रहँदाको प्रसंग स्मरण गर्दै कृष्ण जन्माष्टमीको शुभकामना दिएका छन्।

सांसद न्यौपानेले सामाजिक सञ्जालमार्फत लामिछानेलाई भैरहवा कारागारको झ्यालविहीन सानो बन्दकोठामा राखिएको र अत्यधिक गर्मीमा समेत झ्यालबाट प्रकाश छिर्न नसक्ने गरी काठ ठोकेर बन्द गरिएको दाबी गरेका छन्।

उक्त अवस्थाबारे आफूहरूले राष्ट्रिय मानवअधिकार आयोगमा पटक–पटक ध्यानाकर्षण गराएको उल्लेख गर्दै उनले नागरिक तहबाट समेत सरकारको व्यापक आलोचना भएपछि लामिछानेलाई कृष्ण जन्माष्टमीकै दिन नक्खु कारागार सारिएको बताए।

'मलाई झलझल्ती याद आउँछ। पार्टी सभापति रवि लामिछाने ज्यूलाई भैरहवा कारागार को सानो एउटा बन्दकोठीमा राखिएको थियो। पिच पग्लेला जस्ता गर्मी मौसममा झ्यालविहिन कोठामा राखिएको थियो। झ्यालमा प्रकाश आउन नसक्ने गरी काठ ठोकेर बन्द गरिएको थियो,' उनले भनेका छन्, 'मानवअधिकार आयोगमा गएर हामीले पटकपटक ध्यानाकर्षण गराउँथ्यौँ। समग्र नागरिकलाई यो व्यथा जानकारी गराइसके पश्चात् नागरिक तहबाट सरकार व्यापक आलोचित भएको थियो तत्पश्चात आजकै दिन अर्थात् कृष्ण जन्माष्टमी कै दिन पार्टी सभापति रवि लामिछाने ज्यूलाई नक्खु कारागार सारिएको थियो।'

न्यौपानेका अनुसार भैरहवा कारागारबाट सार्ने क्रममा लामिछानेले आफू बसेको कोठामा ‘अब फेरि कृष्ण भगवान् जन्मिँदैनन्। जन्मेकाले नै कृष्ण हुनुपर्दछ’ भनेर लेखेका थिए। उक्त भनाइले आफूहरू सबैको मन छोएको सांसद न्यौपानेले उल्लेख गरे।

उनले भने, 'सार्ने क्रममा सभापतिज्यूले आफू बसेको कोठामा लेख्नुभएको थियो 'अब फेरि कृष्ण भगवान जन्मिँदैनन्। जन्मेकाले नै कृष्ण हुनुपर्दछ' यो भनाइले सबैको मन छोएको थियो। आज त्यही दिन जुन दिन कृष्ण भगवान् जन्मिनुभएको थियो।'

प्रकाशित: १९ भाद्र २०८३ ०८:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App