राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बागमती प्रदेश सभापति डा.अच्युतम लामिछानेले पार्टी छाड्न चाहने कोही अझै बाँकी भए छाड्न उर्दी जारी गरेका छन्। शनिबार ललितपुरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले सुमना श्रेष्ठ र सन्तोष परियारले छाडेको प्रशंगमा यस्तो बताएका हुन्।
‘जानेहरूलाई गए हुन्छ भन्दिएको हो, कोही बाँकी हुनुहुन्छ भने! यस्तै भइरहने, हाम्रो पैसा खर्च भइरहने, उहाँहरूलाई नेता बनाइराख्नुपर्ने,’ लामिछानेले भने, ‘कति ठाउँमा त गाडी लिएर लिन जानुपर्ने, प्लेन चढाएर ल्याइदिनुपर्ने–पु¥याइदिनुपर्ने, फूल माला लगाइदिनुपर्ने। सबै चिज गर्नुपर्ने अनि अन्तिममा हामीलाई बेवारिसे बनाएर छोडेर हिँड्ने?’
त्यस्ता नेता अझैँ पार्टीभित्र भए छाडेर हिँड्न उनले चेतावनी दिए। ‘त्यस्तो साथीहरूलाई यदि अझ पनि कोही बाँकी हुनुहुन्छ भने हामी यो तनावको भाषण यहाँ आएर गरिरहन सक्दैनौँ गए हुन्छ भन्दिएको हो,’ उनले भने।
सन्तोष परियारबारे आफूले केही व्यक्तिसँग कुरा गरिरहँदा उनले पार्टी छाडेको खबर सुन्दा साह्रै नरमाइलो भएको पनि लामिछानेले सुनाए। उनले भने, ‘हिजो बाहिर सन्तोष जीको यति धेरै प्रशंसा गर्दै थिए, हाम्रो पार्टीमा यस्तो यस्तो मान्छे हुनुहुन्छ भनेर प्रचार गर्दै थिएँ। एक छिन पछि त ठ्याक्क लाएर म्यासेज आउन थाल्यो। उहाँसँग अर्को कुरा गर्नै सकिनँ, जुरुक्क उठेर हिँडे।’
त्यति बेला आफूसँग रहेका व्यक्तिले प्रश्न सोधे आफूसँग उत्तर नै नभएको उनले बताए। ‘जसको नाम लिइरहेको थिएँ, उहाँ त पार्टीमा हुनुहुन्न,’ उनले भने।
यो सबै रास्वपा नेताकार्यकर्ताले जानेर नजानेर र रवि लामिछाने सोझो भएर भएको उनले बताए। ‘रवि दाइले बनाउनुभयो, अवसर दिनुभयो,’ उनले भने, ‘आज संसद् सकिएको एक हप्ता, एक महिना के पुगेको थियो, सडकमा यता भाइबहिनीको रगतको खोलो बगेको थियो, गर्व गरेर राजीनामा दिएर हामी बाहिर आयौँ..।’ रास्वपा लोकसेवाको जागिर खाने ठाउँ नभएको पनि उनले बताए। ‘कुनै बेला एक महिना सांसद हुन पनि सक्छ, नहुन पनि सक्छ,’ लामिछानेले भने।
लामिछाने केन्द्रीय सभापति रवि लामिछाने निकट नेता मानिन्छन्। पछिल्लो समय अरू नेताविरुद्ध पनि रास्वपामा चर्को आलोचना भइरहेको छ। जसमा गणेश कार्की, डा. तोसिमा कार्की लगायतका नेता पनि पार्टी छाड्नसक्ने भन्दै भित्रभित्रै आलोचना भइरहेको छ।
प्रकाशित: २९ कार्तिक २०८२ १९:५४ शनिबार

