राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विधि मिचिएको अवस्था भए रास्वपामा राईट टु रिकल हुने बताएका छन् । सूर्य दर्शन सहकारी ठगी मुद्दामा तारिख बुझ्न पोखरा आएका उनले पत्रकारहरुसँग कुरा गर्दै सोमबार बुझाइएको समानुपातिक उम्मेदवारको नामावलीमा विधि मिचिएको पाईए राईट टु रिकल गरिने बताएका हुन् ।
रास्वपाले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा नेताका आफ्ना आफन्त रहेको पाइएको छ । जसका कारण अहिले सामाजिक सञ्जालमा नयाँले नै विधि मिचेको भन्दै आलोचना भइरहेको छ । सोही प्रसङ्गमा लामिछानेले विधि भन्दा बाहिर पार्टी नजाने स्पष्ट पारे । ‘रास्वपामा विधि छ, विधिमा रास्वपा हिंड्छ, विधिभन्दा बाहिर हामी कुनै हालतमा जाँदैनौं’, उनले भने,‘कथमकदाचित यी सबै विधिहरू नाघिएको रहेछ भने राइट टू रिकलको व्यवस्था रास्वपाको विधानले नै गरेको छ ।’ उनले रास्वपा परिवारवादमा स्पष्ट रहेको बताए ।
सभापति लामिछानेले छोटो समयमा समानुपातिक उम्मेदवारको बन्दसूची तयार पार्नु परेकाले त्रुटीहरु भएका हुनसक्ने बताए । तर त्यसलाई सच्याईने उनको भनाई थियो । ‘बन्दसूची बुझाउने बेलामा कुलमानसँग सहमति गर्दै थियौं’, उनले भने, ‘यस्तै केहि कारणले केही समस्या भएको हुनसक्छ । र यसो भएको भए त्यसलाई रिभ्यू गरिन्छ ।’
‘हामी सचेत छौं । तर समयले गर्दा अरु दुई दिन पनि अरु केही विवाद छन् कि भनेर हामी वेट गरेका छौं । यो दुई दिनमा जति पनि जायज गुनासो छन्, सबै सम्बोधन गर्दौं । किनभने हामीले बोक्नुपर्ने एक जना मान्छे पनि छैन पार्टीमा,’ लामिछानेले भने ।
प्रकाशित: १६ पुस २०८२ १६:४२ बुधबार





