रास्वपा सभापति रवि लामिछानेले मधेसले जाति र पहाडले पार्टी छोडेको उल्लेख गर्दै अब नेपाली जनतालाई अझै सार्वभौम बनाउनुपर्ने बताएका छन्।
जनकपुरधामस्थित जानकी मन्दिर परिसरबाट पार्टीका नेता अमरेशकुमार सिंहको मेची-महाकाली पदयात्रालाई शुभकामना दिँदै उनले यस्तो बताएका हुन्।
छठ पर्वको अवसरमा पूजाआजाका लागि जनकपुरधाम पुगेका सभापति लामिछानेले सिंहको पदयात्रा राजनीति र दलभन्दा धेरै माथि उठेर देशमा सद्भाव तथा राष्ट्रिय एकताको सन्देश दिन सफल हुने विश्वास व्यक्त गरे।
नेता सिंहले पहिलेदेखि नै हिमाल, पहाड र मधेस अर्थात् सिङ्गो देश जोड्ने गरी मेचीदेखि महाकालीसम्म पदयात्रा गर्ने बताउँदै आएको उनले उल्लेख गरे।
छठ जस्तो पवित्र बेला र जनकपुरधाम जस्तो पवित्र स्थलबाटै सद्भावको सुरुवात गर्न लागिएको उनले बताए। देशलाई शिरमा राखेर जाति, लिङ्ग, धर्म, सम्प्रदाय र भूगोल सबैलाई जोड्ने यात्रा सुरु गर्न उनले सिंहलाई शुभकामना दिए।
सभापति लामिछानेले लामो समयदेखि राजनीतिमा सक्रिय रहेका नेता सिंहका लागि रास्वपा नै अन्तिम गन्तव्य बन्ने र यहीँबाट निकास निस्किने विश्वास लिएको बताए। उनले यसपटकको निर्वाचनको सन्दर्भ कोट्याउँदै सद्भावपूर्ण यात्रा सफल रहोस् भन्ने शुभकामनासमेत व्यक्त गरे।
सो अवसरमा उनले जानकी मन्दिर प्राङ्गणमा उपस्थित भक्तजन तथा सर्वसाधारणलाई धन्यवाद दिएका थिए।
प्रकाशित: ३० कार्तिक २०८३ १५:४५ सोमबार





