राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको ‘गुन’ अदालत धाएर तिरिरहेको टिप्पणी गरेका छन्।
सोमबार काठमाडौं जिल्ला अदालतमा तारिख बुझाएर फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले ओलीको अभिव्यक्तिप्रति व्यंग्य गरेका हुन्।
अदालत परिसरबाट बाहिरिने क्रममा लामिछानेले भने, ‘केपी ओलीजीले मलाई ठूलो गुन लगाएको छु भन्नुभएको रहेछ। उहाँले कहाँ–कहाँ गुन लगाउनुभएको छ, अब यो जिन्दगीभर गुन तिर्दै जानुपर्ने छ।’
आफूमाथि लगाइएका विभिन्न मुद्दाहरूको सामना गरिरहेको सन्दर्भ जोड्दै लामिछानेले यसलाई ‘गुन तिर्ने’ प्रक्रियाका रूपमा अर्थ्याए।
उनले भने, ‘अरूलाई त मलाई जस्तो मुद्दा लाग्दैन। म सायद सबैभन्दा धेरै मुद्दा लागेको मान्छे हुन सक्छु। गुन तिर्ने क्रममा म काठमाडौं जिल्ला अदाल हाजिर हुन आएँ। अब ओलीको गुन तिर्न सबै जिल्लामा जानुपर्ने छ।’
केही दिनअघि एक अन्तर्वार्ताका क्रममा एमाले अध्यक्ष ओलीले रवि लामिछानेलाई आफूले विगतमा गुन लगाएको तर लामिछानेले अनावश्यक दुश्मनी गरेको बताएका थिए।
ओलीले भनेका थिए, ‘मैले रवि लामिछानेलाई गुन लगाएको थिएँ। उनले मसँग अनावश्यक दुश्मनी गरे। किन गरे थाहा छैन, भेट हुँदा सोध्छु।’
सोही अन्तर्वार्तामा ओलीले आगामी निर्वाचनमा नयाँ दलहरूको खासै प्रभाव नहुने दाबीसमेत गरेका थिए।
हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङहरू मिले पनि चौथो वा पाँचौँ शक्ति पनि बन्न नसक्ने ओलीको टिप्पणी थियो। उनले नयाँ शक्तिहरूलाई सूर्यलाई टिपेर खान खोज्ने बच्चा जस्तै भएको बताउँदै उनीहरूको हैसियत दशौँ–बाह्रौँ हुन सक्ने बताएका थिए।
लामिछाने सोमबार काठमाडौं जिल्ला अदालतमा तारिख बुझाउन पुगेका हुन्। हिरासतबाट रिहा भएपछि उनलाई विभिन्न जिल्लाका अदालतहरूमा विचाराधीन मुद्दाहरूको तारिख तथा अदालती प्रक्रियाका लागि पुग्नुपर्ने हुन्छ।
प्रकाशित: ७ पुस २०८२ १६:३४ सोमबार





