२८ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

‘जेन-जी आन्दोलनमा रविले ८ घण्टा बयान दिए, तर बोलाउँदा पनि नजानेलाई छुट ?’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले कानुनको पालना गर्ने सवालमा दोहोरो मापदण्ड देखिएको भन्दै असन्तुष्टि जनाएका छन्।

शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्‌घाटन सत्रलाई सम्बोधन गर्दै बुर्लाकोटीले जेन-जी आन्दोलनको विषयमा सोधपुछका लागि छानबिन आयोगले बोलाउँदा आफ्ना पार्टी सभापति रवि लामिछानेले ८ घण्टा लामो बयान दिएर कानुनको सम्मान गरेको स्मरण गराए।

तर, सोही प्रकरणमा आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउँदा उनी जान अस्वीकार गरेको सन्दर्भतर्फ संकेत गर्दै बुर्लाकोटीले कानुन सबैलाई बराबर हुनुपर्नेमा जोड दिए। यद्यपि बुर्लाकोटीले ओलीको नाम भने उल्लेख गरेका थिएनन्।

उनले घुमाउरो पारामा ओली तर्फ इंकित गर्दै भने, ‘जेन-जी आन्दोलनको सम्बन्धमा रवि लामिछानेले ८ घण्टा बयान दिनुभएको कुरा सबैलाई विदितै छ। तर, आयोगले बोलाउँदा पनि नजाने प्रवृत्तिले कानुनको पालनामा प्रश्न चिन्ह खडा गरेको छ। कानुन सबैलाई बराबर हुनुपर्छ र यसको पालना सानालाई ऐन र ठूलालाई चयन हुनु हुँदैन।’

महामन्त्री बुर्लाकोटीले सभापति लामिछानेले कानुनको पूर्ण पालना गरिरहँदा अन्य शीर्ष नेताहरूले भने उन्मुक्ति खोजेको आरोप लगाए।

उनले भने, ‘त्यो भन्दा अधिक विगो र आरोप लागेका नेताहरू एक दिन पनि हिरासत नबसी बाहिरै हुनुहुन्छ, तर कानुन मान्नेलाई चाहिँ घेराबन्दी गरिँदैछ।’

उनले विधिको शासनमा कोही पनि कानुनभन्दा माथि हुन नसक्ने भन्दै अनुसन्धान प्रक्रियामा सबैले समान रूपमा सहयोग गर्नुपर्ने धारणा राखेका थिए।

प्रकाशित: २७ मंसिर २०८२ १६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App