४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

बहुमतको शक्तिशाली सरकार बनाउने आन्तरिक तयारीमा रवि र बालेन

फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सरकार गठनको तयारीमा तीव्र रूपमा जुटेको छ। पार्टीले आफ्ना नवनिर्वाचित सांसदलाई दुईदिने विशेष प्रशिक्षण सञ्चालन गरिरहँदा, सरकारको नेतृत्वका लागि आन्तरिक रणनीति पनि समानान्तर रूपमा अघि बढाइएको छ।

मंगलबार १२ घण्टे प्रशिक्षणमा सहभागी भएका सांसदहरू आज दोस्रो दिन थप सात घण्टे प्रशिक्षणमा सहभागी भइरहेका छन्। प्रशिक्षणमार्फत संसदीय अभ्यास, नीति प्राथमिकता र शासन सञ्चालनका आधारभूत विषयमा अभिमुखीकरण गरिँदैछ।

यता, ‘भावी प्रधानमन्त्री’ का रूपमा हेरिएका बालेन्द्र शाह (बालेन) भने प्रशिक्षणमा सहभागी नभई सरकार निर्माणका लागि आवश्यक टिम गठनमा केन्द्रित छन्। उनले सम्भावित मन्त्रिमण्डलको आकार, सदस्य छनोटका मापदण्ड र सरकारको प्रारम्भिक कार्यसूचीबारे छलफललाई तीव्र बनाएका छन्।

रास्वपाले बालेनको नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेसँगै संसदीय दलको नेता चयन र पार्टी विधान संशोधनको प्रक्रिया अघि बढाउने गृहकार्यसमेत सुरु गरेको छ। यसका लागि आवश्यक आन्तरिक सहमति जुटाउने प्रयास भइरहेको स्रोतले जनाएको छ।

पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापति स्वर्णिम वाग्ले र डीपी अर्याल बीच भावी सरकारको संरचना, मन्त्री छनोटका मापदण्ड र सरकार गठनलगत्तै सुरु गरिने प्राथमिक कामबारे पटक–पटक छलफल भइरहेको छ।

शीर्ष नेताहरूबीचको छलफल मुख्यतः सक्षम, स्वच्छ छवि भएका र परिणाममुखी काम गर्न सक्ने व्यक्तिलाई मन्त्रिमण्डलमा समावेश गर्नेमा केन्द्रित छ। साथै, सरकार बनेलगत्तै सुशासन, सेवा प्रवाह सुधार र आर्थिक सक्रियता बढाउने योजनालाई प्राथमिकतामा राख्ने तयारी रास्वपाले गरेको छ।

रास्वपाले प्रशिक्षण र आन्तरिक तयारीलाई सँगसँगै अघि बढाउँदै छिट्टै सरकार गठन गर्ने लक्ष्य राखेको देखिन्छ।

 

प्रकाशित: ४ चैत्र २०८२ ०७:४२ बुधबार