नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टी सभापति शेरबहादुर देउवाको दम्पतीमाथि सांघातिक आक्रमण हुँदा पार्टीकै नेताबाट अमर्यादित गतिविधि भएको आरोप लगाएका छन्। शुक्रबार दाङको लमहीमा भएको कांग्रेसको लुम्बिनी प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री राठौरले यस्तो आरोप लगाएका हुन्।
‘राज्यका तीन वटै अंग जलाइएको, दर्जनौं नेपाली मारिएको, पार्टीका केन्द्रदेखि जिल्लासम्मका पार्टी कार्यालय ध्वस्त पारिएको अवस्था थियो,’ भदौ २४ को दिनलाई सम्झिँदै सहमहामन्त्री राठौरले भने, ‘सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणामाथि आक्रमण गरिएका बेला संयमता देखाउनु पर्नेमा पार्टीकै नेताहरूद्वारा अमर्यादित क्रियाकलाप प्रस्तुत भए।’
पार्टीभित्र यति धेरै असंवेदनशील व्यवहार कहिल्यै नदेखिएको उनले आरोप लगाए। ‘हामीले पनि विगतमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको कार्यशैलीको विरोध गरेका थियोैँ। तर उहाँहरूको योगदानको अवमूल्यन कहिल्यै गरेनौँ,’ उनले भने। लोकतान्त्रिक पार्टी भएकाले नेताको विरोध हुनु स्वाभाविक भए पनि विरोधका नाममा मर्यादा कहिल्यै नाघ्न नहुने उनले बताए।
कांग्रेसमा बिपी कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईकै पालामा पनि गुटगत रूपमा आन्तरिक प्रतिस्पर्धा हुने गरेको बताउँदै सहमहामन्त्री राठौरले त्यो सधैँ रहिरहने पनि बताए। उनले अगाडि भने, ‘कांग्रेसमा गुट एवं आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हुन्छ। तर त्यसको नाममा चार तारे झन्डा र रुख चिन्हमाथि अहित हुने काम कसैले गर्न पाउँदैन।’
प्रकाशित: २६ मंसिर २०८२ १७:५५ शुक्रबार





